झापा, माघ २४। दुई पटक बिथोलिसकेको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन फेरि स्थगित भएकोे छ ।

सोमवार बिथोलिएको निर्वाचन आज हुने भनिएको थियो । निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृतले सूचना जारी गरी आजको निर्वाचन पनि स्थगित गरिएको जनाएका छन् ।

समितिका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा आज बिहान बसेको बैठकमा सरोकारवालाहरुबीच छलफल गराउँदा मतदान गराउन सहमति जुट्न नसकेकाले हाललाई सो मतदान स्थगित गरिएको सूचनामा जनाइएको छ । योसंगै तेस्रो पटक निर्वाचन स्थगित भएको हो । यसअघि शनिवार स्थगित भएर आइतवार सुचारु गरिएको निर्वाचन सोमवार फेरि विवाद भएर बिथोलिएको थियो । अर्जुनधारा नगरपालिकाले सिफारिस गरी पठाएको किसान प्रतिनिधिमा विवाद भएको थियो । अर्जुनधारा नगरपालिकाले पाँचजनामध्ये राजेन्द्र काफ्ले नामका व्यक्तिलाई पनि किसान प्रतिनिधिको रुपमा सिफारिस गरी पठाएको थियो । राजेन्द्र काफ्ले नामका व्यक्तिले मतदान गरिसकेपछि त्यही नामका अर्का व्यक्तिले आफूले मतदान गर्न पाउनु पर्छ भनेपछि विवाद भएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए । ४० जना मतदातामध्ये २६ जनाले मतदान गरिसकेपछि सक्कली नक्कली मतदातामा विवाद भएको थियो ।


पालिकाहरुले किसान भनेर सिफारिस गरी पठाएका प्रतिनिधिहरु किसान नभएर राजनीतिकर्मी भएपछि विवाद नमिलेको हो । निर्वाचनमा कांग्रेस र एमालेबीच नेतृत्व हत्याउने अस्वस्थ्य प्रतिष्पर्धा देखिएको छ । यसअघि शनिवार भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्