झापा,माघ २४ । सङ्घीय संसद्को महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले ३ वटा नागरिकता लिएको विषयमा छानबिन जारी रहेको छ । पाण्डेयले विभिन्न मितिमा ३ पटक नागरिकता लिएको बारेमा गृह मन्त्रालयका साथै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीमाथि छानबिन भइरहेको हो ।

समितिका सभापति रामहरि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिमा पनि पाण्डेयविरुद्ध उजुरी परेको र त्यो उजुरी बारेमा छानबिन चलिरहेको जानकारी दिए ।

सभापति खतिवडाले भने– ‘छानबिनको आफ्नै प्रक्रिया हुन्छ, उहाँको नियुक्तिको आफ्नै प्रक्रिया हो, उहाँले गलत गर्नुभएको रहेछ भने सजायको भागीदारी हुनुहुन्छ । उहाँले ३ वटा नागरिकता लिएको देखिएकै हो । पहिला २०२६ सालको जन्म मिति भएको, त्यसपछि २०३२ साल जन्म भएको र २०७७ सालमा फेरि २०२६ सालमै जन्म मिति कायम भएको नागरिकता लिनुभएको भेटिएको छ । पासपोर्ट पनि त्यस्तै त्यस्तै दुई तिनवटा लिएको भेटिएको छ । अर्को भर्खर रातो पासपोर्ट लिएको भेटिएको छ । त्यो बारेमा छानबिनको प्रक्रिया आफ्नै हुन्छ, उहाँले सभामुखमार्फत नियुक्ति प्रक्रिया पाउनुभयो त्यसमा मेरो केही प्रतिक्रिया छैन ।’

गत मङ्सिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई संसद्को महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए । तर रामचन्द्र पौडेलले झन्डै २ महिना होल्ड गरेर माघ २३ गते पाण्डेयलाई महासचिवमा नियुक्त गरेका थिए । पाण्डेयले आज सभामुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्