झापा , माघ २५ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज खेलिएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि २१७ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाएका थिए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । यस्तै आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।
नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए । उनले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिएर ४ विकेट लिए ।

क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरेका थिए । पर्गतले ५० रन जोड्न निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे । त्यसपछि हर्ष थाकेरले ३२ रन जोड्दा निकोलाससँग ६० रनको साझेदारी गरेका थिए ।

निकोलासले ६० रनको योगदान गरे । उनले ९९ बलमा ७ चौका प्रहार गरेका थिए । निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो । नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिनेछ ।
नेपालले फागुन पहिलो साता आइसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्