झापा,माघ २८ । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।

विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो । समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए ।

उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिए । उनले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताए ।

महानिर्देशक तामाङले यसरी पछिल्लो एक वर्षमा दुई लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गरे । उनले दुई लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको संख्या समावेश नभएको बताए । उनले सन् २०२३ मा आठ लाख आठ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताए।

महानिर्देशक तामाङले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा एक लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको जानकारी दिए । उनले भ्रमण तथा धार्मिक प्रयोजनका लागि एक लाख चार हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको बताए । उनले अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फगुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताए।

उनले अध्यागमन विधेयकलाई वर्तमान समय सापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए । नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उल्लेख गरे । उनले अहिले १० लाख पर्यटक भित्रिए भने पनि अध्यागमन विभागको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा नभित्रिएको दाबी गरे । उनले अध्ययन भिषा, कामदार भिसाा, रिटायरमेण्ट भिसा, मेडिकल, भिसा, धार्मिक भिसा, खेलकुद भिसा लगायत अन्य प्रकारका भिषाहरु थप्नु पर्ने अवस्था रहेको बताए । उनले १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काईएको बताए ।

महानिर्देशक तामाङले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्काषन गरिएको बताए । उनले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निस्काषन गरिएको बताए । उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मुलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्