झापा, फागुन ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा १० यात्रुको मृत्यु भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/02/1-durghatana_A2H2fRPHaV.jpg)
मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् । बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।
त्यस्तै भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका-९ बिसफाँटा बस्ने बिमला देवी भट्टको पहिचान खुलेको छ ।
सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो ।प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएकोमा तीमध्ये नौ जनालाई बुटवल पठाइएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।