झापा,फागुन ३ । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।

आर्थिक वर्ष २०६९-७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुङ्गे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिए । झोलुङ्गे पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबाट स्थानीय पालिकामा बजेट आउने र निर्माणको प्राविधिक र सामाजिक सहयोग स्थानीय सहारा नेपालले गर्दै आएको नेपालले बताए ।

झापा जिल्लामा कनकाई, बिरिङ, निन्दा, मेची, हडिया, रतुवा, देउनिया, फुलबासा, टिमाइलगायत दर्जनौँ साना र ठूला नदी रहेका छन् । पक्की पुल नभएको र पुराना काठका पुल जीर्ण भएको स्थानमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको छ । गत आर्थिक वर्षमा आठ वटा झोलुङ्गे पुल निर्माण भएका र चालु आर्थिक वर्षको छ महिनामा तीन वटाको निर्माण सम्पन्न भइसकेको उनले बताए । आठ वटा पुल क्रमागतरुपमा निर्माण भइरहेको छ ।

चालू आर्थिक वर्षमा थप चार स्थानमा झोलुङ्गे पुल निर्माणको प्रारम्भिक काम अघि बढाइएको र २६ वटा पुल निर्माणका लागि सर्भे गर्ने कार्यक्रम रहेको बताइएको छ । सरकारले गरिबी निवारणमा टेवा पुर्याउने, सामाजिक तथा आर्थिक स्रोत एवम् अवसरमा स्थानीयको पहुँच बढाउने उद्देश्यले झोलुङ्गे पुल निर्माणलाई देशभर नै तीव्ररुपमा अघि बढाएको छ । झोलुङ्गे पुल कार्यक्रमले जनाएअनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्ता समितिमार्फत र त्योभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत बनाउने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्