झापा,फागुन ३ । सात महिनाको अवधिमा मोरङ जिल्लाबाट जन्मका आधारमा नागरिकता पाएका सन्तानहरु १२ हजार ६४२ जनाले वंशजको नागरिकता पाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दिएको जानकारी अनुसार गत असार ११ गतेदेखि फागुन १ गतेसम्ममा उक्त संख्यामा नागरिकता वितरण भएको हो । जसमा जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरबाट ८ हजार ९७४, इलाका प्रशासन कार्यालय रंगेलीबाट ३ हजार १९९ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ४६९ जना जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाएका छन् । यस्तै हालसम्म एनआरएन नागरिकता पाउनेको संख्या मोरङबाट ४३ जना रहेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा यसअघि जस्तो नागरिकता लिनेको भीड पनि देखिएको छैन । ‘उर्लाबारी प्रशासन कार्यालयमा त जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई नागरिकता दिने प्रक्रिया सकिसकेको छ । रंगेली र विराटनगरमा छिटफुट आइरहेका छन् । पहिले जस्तो भीडभाड छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्