झापा,फागुन ३ । ‘भ्यालेन्टाइन डे’मा विदेशबाट आयात हुने गुलाबको फूल प्रतिस्थापनमा योगदान गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले गरेको लगानी खेर गएको छ । सरकारले फूल उत्पादनका लागि दिएको संस्थाले फूल उत्पादन गर्न नसकेपछि लगानी सदुपयोग हुन नसकेको हो ।

‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरेर धनकुटाको चौबिसे गाउँपालिकामा फूल उत्पादन गर्ने तयारी प्रदेश सरकारको थियो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गाउँपालिकालाई २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । तर, गाउँपालिकाले भने कार्यविधि खोज्दा खोज्दै उत्पादन गर्न नसकेको जनाएको छ । गुलाब खेतीको कार्यविधि स्पष्ट नभएकाले खेती गर्न नसकेको गाउँपालिकाका कृषि शाखाका प्रमुख चित्रन्जन यादवले बताए । ‘कार्यविधि स्पष्ट नभएकाले हामीले यस वर्ष उत्पादन गर्न सकेनौं,’ उनले भने ज्ञान केन्द्रसँगको समन्वयमा अहिले नर्सरी राख्न सुरु गरेका छौ।’

गुलाबको खेती गर्न कोही कृषकले पनि उत्साह नदेखाएकाले अहिले गाउँपालिकाकै कार्यालयको कम्पाउन्डमा नर्सरी लगाउन सुरु गरेको उनले बताए । बिरुवासमेत किन्न नपाएकाले गाउँबाटै बिरुवा खोजेर नर्सरीमा उत्पादन गर्न थालिएको उनले बताए । ‘नजिकै नर्सरीमा पनि बिरुवा खोज्न पाइएन,’ उनले भने ‘भारततिर पाइँदोरहेछ तर हामीले खरिद गर्न मिल्दैन सर्लाहीमा एउटा नर्सरी छ भनेर सुनेका छौं, अब बिरुवा ल्याएर अर्काे वर्षको ‘भ्यालेन्टाइन डे’ मा हामी उत्पादन गर्छौ ।’

बजारीकरणमा गाउँपालिका अल्मलिँदा उत्पादन गर्न नसकेको हो । प्रदेश सरकारले दिएको पैसासमेत खर्च गर्न सक्ने अवस्था नरहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्