बिर्तामोड, फागुन ३ ।पाँच दलीय गठबन्धनको स्वतन्त्र व्यावसायिक प्यानलले बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको लागि बिहीवार उम्मेदवार घोषणा गरेको छ ।

आगामी फागुन १४ गते हुने निर्वाचनका लागि नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी ,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा उम्मेदवार घोषणा गरेका हुन् । जस अनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली , वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु ,उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ , वाणिज्य उपाध्यक्षमा गंगा मैनाली , जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई , महासचिवमा कृष्ण पौडेल , वाणिज्य सचिवमा कृष्ण चापागाँई , उद्योग सचिवमा विसन लिम्बू ,कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी उम्मेदवार बनेका छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा शत्रुधन रौनियार , कृष्ण बजगाई , केदार खनाल , सोहनलाल राजवंशी , राकेश सोहनी , रिता चौधरी , आमिर खानले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा भने चन्द्रा भट्टराई र सुष्मा उप्रेती उठेका छन् । उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघमार्फत व्यवसाय क्षेत्रमा रुपान्तरण ल्याउन स्वतन्त्र प्यानलको जीत जरुरी रहेको बताए । उनले यथास्थितिको निरन्तरता गर्ने कि परिवर्तनको थालनी गर्ने त्यसमा व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा अधिकांश वक्ताले वाणिज्य संघप्रति विश्वास हराएको बताएका थिए । उनीहरुले व्यावसायीको हितमा काम नगरेसम्म विश्वास जित्न नसकिने भन्दै बिर्तामोडलाई जोगाउन पनि स्वतन्त्र प्यानललाई जिताउन आवश्यक रहेको धारणा राखे । उम्मेदवारी घोषणासंगै स्वतन्त्र व्यावसायिक प्यानलले २९ बुँदे प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरेको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया , नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्की, निर्वाचन परिचालन समिति संयोजक एकराज कार्की , राप्रपाका केन्द्रीय सदस्य एवम् अग्रज व्यक्तित्व राजकुमार पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादीका नेता भानु दंगाल, रास्वपाका अर्जुन उप्रेतीलगायतले मन्तव्य राखेका थिए । राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।पाँचदलीय गठबन्धनअन्तर्गत एमालेले अध्यक्ष , जनसम्पर्क उपाध्यक्ष , उद्योग सचिव र कोषाध्यक्षसहित चार सदस्य, राप्रपाले वाणिज्य उपाध्यक्ष , महासचिव र सहकोषाध्यक्षसहित दुई सदस्य , राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष , वाणिज्य सचिवसहित एउटा खुल्ला र अर्को महिला सदस्य , नेकपा माओवादी केन्द्रले उद्योग उपाध्यक्ष र एउटा सदस्य पाएका छन् ।

जसपाले कुनै पनि पदमा उम्मेदवारी दिएन । सिटको भागवन्डा मिलाउन उपाध्यक्ष र सचिव पदका लागि सहमति हुन समय लागेको थियो । उद्योग उपाध्यक्षमा दावी गरेका एमालेका विसन लिम्बूले सो पद नपाएर उद्योग सचिवमा चित्त बुझाउनु परेपछि उम्मेदवारी घोषणा कार्यक्रममा ढिलोगरी उपस्थिति जनाएका थिए । यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यवसायी प्यानलले उम्मेदवारी घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्