झापा , फागुन ३ । झापाको बिर्तामोड र मेचीनगरमा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

आज साँझ सवा ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ५ कृषिथोक बजारमा शंकास्पद अवस्थामा हिडिरहेका भारत प्रोफेसर कलोनी कटिहार वडा नम्बर २२ बिहार राज्य घर बताउने अन्दाजी ३० वर्षीया शोभा दास (साह)लाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको ब्यागबाट एक हजारको नेपाली नोट थान ३७, पाँच सयको नेपाली नोट थान १३, एक सयको नेपाली नोट थान ३, बीसको नेपाली नोट थान ६, दसको नेपाली नोट थान १ र पाँचको नेपाली नोट थान २ गरी जम्मा नेपाली नगद रु. ४३हजार ९४० र सोही ब्यागभित्र सेतो प्लाष्टिकको चारपाटे बट्टाभित्र २ ग्राम २४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै आजै साँझ ५.४५ बजे मेचीनगर ६ मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेका दमक ५ यलम्बर चौक बस्ने अन्दाजी २४ वर्षीय सागर खडकालाई शंका लागेर चेकजाँच गर्दा जिन्स पेन्टको अगाडि दाहिने पट्टीको गोजीभित्र सेतो रंगको प्लाष्टिकले पोका पारेर लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्