झापा,फागुन ४ । मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ । प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ । पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए ।

उनका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । ‘यस्तो काम बोक्सीबाहेक अरूले गर्नै सक्दैन । दियो चोरेर मेरो घरमा लगाएको पूजा भाँड्ने काम गरियो,’ उनले भने । माझीले लछारपछार पारेर हातले कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको जानकारी दाहालले दिए ।

त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् ।

धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको भनाइ छ । उनी विरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्