झापा,फागुन ६ । नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित कलाकार मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार..’ बोलको गीतको वृत्तचित्र (म्युजिक भिडियो) सार्वजनिक भएको छ । ताप्लेजुङको पर्यटन, मौलिक पहिचान र संस्कृति उजागर गर्नमा टेवा पुग्ने खालको उक्त गीतको वृत्तचित्र सदरमुकाम फुङ्लिङमा सार्वजनिक गरिएको हो ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अग्रज साहित्यकार टङ्कबहादुर भट्टराईको शब्द रहेको गीतमा शङ्कर थापा (स्माइल)ले सङ्गीत दिएका छन् । त्यहाँको उच्च हिमाली क्षेत्र कञ्चनजङ्घा, कुम्भकर्ण, सिँजेमा ताल, ओलाङ्चुङगोला, तिम्बुङ पोखरी, फुङ्फङे झरना, तिनजुरे मिल्के जलजलेलगायत पर्यटकीय स्थलको नाम शब्दमा समेटिएका छन् । त्यहाँको जातीय विविधता, संस्कृति, मौलिकतालाई उजागर गर्नेगरी शब्दहरु गीतकार भट्टराईले समावेश गरेको छन् ।

यता गीति वृत्तचित्रमा गीतका शब्द अनुसार त्यहिँको पर्यटकीय स्थल तथा संस्कृति भेषभूषालाई समेट्नेगरी छायाङ्कन गरिएको छ । गीतको भिडियोमा मोडल दिनेश लिङ्खिम, प्रिती थलङ, प्रिन्स लिम्बू, कुमार वनेम, अस्मि मादेनलगायतको अभिनय छ । अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम, पूर्वमन्त्री बलबहादुर साम्सोहाङलगायतका व्यक्तित्वलाई देख्न सकिने वृत्तचित्र भावसागर इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्