झापा,फागुन ६ । आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ ।

नेपाल आयल निगमले आर्थिक वर्ष २०७२-७३ देखि आव २०७९-८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो । सरकारले सडक मर्मत दस्तुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै सडक मर्मत दस्तुर सङ्कलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । यो रकम सरकारले सडक मर्मतसम्भारमा खर्च गर्ने गरेको उनको भनाइ छ ।

निगमका अनुसार आव २०७२-७३ मा सडक मर्मत शुल्कबापत दुई अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको थियो । यस्तै आव २०७३-७४ मा चार अर्ब २५ करोड रुपियाँ, आव २०७४-७५ मा पाँच अर्ब १३ करोड रुपियाँ सङ्कलन भएको छ ।

यस्तै आव २०७५-७६ मा पाँच अर्ब ७० करोड रुपियाँ, आव २०७६-७७ मा चार अर्ब ९९ करोड सङ्कलन भएको छ । निगमका अनुसार आव २०७७-७८ मा पाँच अर्ब ७५ करोड रुपियाँ, आव २०७८-७९ मा छ अर्ब ४७ करोड रुपियाँ र आव २०७९-८० मा पाँच अर्ब ४७ करोड रुपियाँ सङ्कलन भएको छ ।

प्रत्येक वर्ष सङ्कलन गरिने सडक मर्मत शुल्कका कारण उपभोक्तालाई इन्धन खरिद गर्न महँगो पर्ने गर्छ । निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गरी विभिन्न शीर्षकमा लगाइएको कर कटाएर बजारमा उपभोक्ता मूूल्य निर्धारण गर्छ । पेट्रोलियम पदार्थमा सरकारले पूर्वाधार शुल्क, वातावरण शुल्क, भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, आयकरबापत शुल्क सङ्कलन गर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्