झापा , फागुन ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी ८ संझना चौकमा अटोले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

साँझ ६.५० बजे मे १ ह ५८०५ नं को अटोले ठक्कर दिँदा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ की ९ वर्षीया शितल श्रेष्ठको मृत्यु भएको हो। बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा ती बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । घटनामा शितलका बुवा दिलिप श्रेष्ठ र दिदी ११ वर्षीया गोमा श्रेष्ठ घाइते भएका छन् । एउटा साइकलमा शितल र उनका बुवा दिलिप सवार थिए भने अर्को साइकलमा गोमा सवार रहेकी थिइन् । दुवै साइकललाई अटोले ठक्कर दिएको थियो । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार अटो चालक शिवसताक्षी ८ का ५२ वर्षीय पूर्णबहादुर भट्टराई मदिराले लठ्ठ भएर मातेका थिए। अटो र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। मृतक शितल झिलझिले माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी झिलझिलेबाट बुवा र दिदीसँग साइकलमा घरतर्फ जाँदै थिइन् । पछाडिबाट आएको अटोले दुवै साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्