काँकडभिट्टा, फागुन ६ । उच्च अदालत बिराटनगरले काँकडभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालनसम्बन्धी विवादमा व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिन अल्पकालीन आदेश जारी गरेको छ ।

अदालतका न्यायाधीश किरण पौडेलले आज उक्त आदेश जारी गरेका हुन् । व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकडभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिएका थिए ।

सम्झौताबमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठ र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि मध्यस्थता गर्न मेचीनगर नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईको संयोजकत्वमा गठन गरेको समितिले हाल होटलमा तालाबन्दी गरेको छ ।

सोही विषयमा घरधनी विष्णुमाया श्रेष्ठलाई विपक्षी बनाएर परमादेश र निषेधाज्ञा माग्दै व्यवसायी देवीभक्त श्रेष्ठ अदालत गएका थिए ।

अदालतले मुद्धाका दुबै पक्षलाई छलफलका लागि बोलाउँदै यही फागुन १३ गते पेशी तोकेको छ । उक्त छलफल नहुञ्जेलसम्मका लागि रिट निवेदक श्रेष्ठलाई होटल चलाउन दिन अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
अदालतले निवेदकको मागबमोजिम परमादेश र निषेधाज्ञा जारी किन नगर्ने भनेर घरधनी दिलमाया श्रेष्ठलाई १५ दिनभित्र अदालतमा जवाफ पेश गर्न समेत आदेश जारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्