झापा,फागुन ७ । काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमी फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तीव्र गतिमा काम भइरहेको छ ।

नेपाली सेनाले काठमाडौँ–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । काठमाडौँ–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ भने पाँच वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ । ठेक्का लागेका आयोजनाको काम तीव्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगामी दुई वर्ष भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ ।

काठमाडौँबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमी ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए । उहाँले फास्ट ट्रयाक निर्माणका लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने जानकारी दिए ।

उनले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताए । प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भए पनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको उनको भनाइ छ । उनले अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणका लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको धारणा राखे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्