लक्ष्मी उप्रेती
मेचीनगर । सरकारले देशैलाई लोडसेडिङमुक्त घोषणा गरिरहेका बेला झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा साप्ताहिक रुपमा दुई दिन विद्युत आपूर्ति अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् ।

यसैका कारण यी दुई पालिकाभित्र सञ्चालनमा रहेका ठूला तथा साना सबैखाले उद्योगहरुले आर्थिक मार खेप्नु परेको मेची उद्योग बाणिज्य संघ मेचीनगरले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको धुलावारी वितरण केन्द्रले मंसिर १६ देखि साप्ताहिक रुपमा प्रत्येक शनिबार र मंगलबार विहान ८ देखि बेलुका ४ बजेसम्म मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रअन्तर्गत पर्ने ३३–११ के.भी. सबस्टेशनको ३३ के. भी. लाईनको डग कन्डक्टरलाई उल्फ कन्डक्टरमा अपग्रेडिङ गर्नका लागि विद्युत काट्नु परेको जनाएको छ । यद्यपि कार्य सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै लाईन सञ्चालन हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

यसको सबैभन्दा ठूलो मार यी दुई पालिकाभित्र सञ्चालनमा रहेका ठूला तथा साना उद्योगहरुले खेप्नु परिरहेको मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । ‘प्रायः सबै उद्योग कलकारखानामा विद्युतीय मेसिन छन्, खुट्टाले मात्रै चलाउने मेसिन छैनन्, अध्यक्ष प्रसाईले भने,‘ विद्युत अनियमित हुँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आउन लाग्यो ।’ विद्युत प्राधिकरणले मंसिर १६ देखि साप्ताहिक रुपमा प्रत्येक शनिबार र मंगलबार विहान ८ देखि बेलुका ४ बजेसम्म यी दुई पालिकामा गरेको विद्युत अवरुद्ध कहिलेदेखि नियमित हुन्छ भन्न पनि सकेको छैन ।’ दुई दिन यी क्षेत्रमा विद्युत अवरुद्ध हुँदा मेचीनगरमा मात्र करिब ५० लाख रुपैयाँ नोक्सान भएको उनको भनाई छ ।

विद्युत अवरुद्धले आमनागरिक सास्ती खेप्न बाध्य भएको उनले बताए। अध्यक्ष प्रसाईले विद्युत अनियमित हुँदा स्थानीयलाई समस्या भएको र अर्कोतिर उद्योग व्यवसायमा पनि अत्यधिक नराम्रो प्रभाव परेको बताए । ‘मेसिनहरु बिग्रिने, उद्योग बन्द हुने अवस्थामा पुगे ’ अध्यक्ष प्रसाईले भने,‘यी दुई दिन तः सबै मेसिन उल्टो चल्छन् के भएको हो थाहा छैन । हत्तपत्त बन्द नगरे सबै मेसिनमा समस्या आउँछ । जेनेरेटर चलाउने अवस्था छैन । सबै उद्योग र कलकारखानामा जेनेरेटर छैनन् । इन्धनको मूल्य बढेकाले बिजुलीको प्रयोग बढाउनुपर्ने अवस्था छ । विद्युत समस्याकै कारण अधिकांश उद्योगले आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य भएका छन् ।’

कपडा उद्योग, होटल व्यवसाय र पोल्ट्री व्यवसायी समस्यामा परेका छन् । राइस कुकरमा खाना बसाउन नभ्याउँदै काटिएको बिजुली कुन बेला आउने हो पत्तो नहुँदा गृहिणीहरु समेत समस्यामा परेका छन् । सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामग्री प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ । तर, साप्ताहिक रुपमा दुई दिन हुने विद्युत अवरुद्धले विद्युतीय मेसिन प्रयोग गर्ने व्यवसायी झनै बढी समस्यामा छन् । बत्ती गइरहँदा दैनिक कामकाज पनि प्रभावित हुने गरेको एकता ट्रेडर्स मेचीनगरका सञ्चालक फणिन्द्र घिमिरेको भनाई छ ।

बिजुली काटिँदा मेचीनगरका होटल व्यवसायीहरु बढी मारमा परेको होटल व्यवसायी संघ मेचीनगरले जनाएको छ । फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सबै सामान बिग्रिएर जाने संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवाले गुनासो गरे । मेचीनगर नगरपालिकाभित्र ठूला र साना गरी ३ सय ३० वटा होटल रहेको उनको भनाई छ । विद्युत प्राधिकरणले सूचना जारी गरेर विद्युत अवरुद्ध गरेको भएपनि नगरका होटल व्यवसायीहरुले दैनिक घाटा व्यहोर्नु परेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

लाईन अवरुद्ध हुँदा टेलर्स व्यवसायीहरु बढी मारमा परेका छन् ।टेलर्समा बिजुली नहुँदा सिलाई मेसिन थन्किएको र सानो सोलार बत्ती बालेर खुट्टाको प्रयोगले कपडा सिलाउनु परेको टेलर्स व्यवसायीको भनाई छ । ‘कपडा सिलाउन आउने ग्राहकलाई छिटो सुविधा दिन भनेर विद्युतीय मेसिन जडान गरियो, लाईन अवरुद्ध हुँदा उल्टै काममा ढिलासुस्ती हुने गरेको छ’, टेलर्स व्यवसायी उमा श्रेष्ठले भनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्