बिर्तामोड, फागुन ७ । बिर्तामोड १० सैनिकबजारलाई फुटबलको उर्वरभूमि मानिन्छ । किनकि यहाँका खेलाडीहरुले नेपालमा मात्र नभएर अनतर्राष्ट्रिय क्षेत्रसम्म ख्याति कमाएका छन् । खेल र खेलाडीलाई प्रवर्द्धन गर्नका लागि वडा खेलकुद विकास समिति बिर्तामोड १० ले लगातार फुटबल प्रतियोगिता गराउँदै आएको छ । यसैक्रममा वडा खेलकुद विकास समितिको आयोजनामा चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता आगामी चैत १६ देखि चैत २५ गतेसम्म हुने भएको छ ।

समितिले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता बिर्तामोड वडा नं १० स्थित महन्द्रज्योति माविको खेलमैदानमा हुनेछ । बिर्तामोड १० मा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन तथा खेल विकास गर्ने उद्धेश्यका साथ यो प्रतियोगिता संचालन गर्न लागिएको आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले बताए । प्रतियोगिताको विजेताले नगद रु ३१ हजार प्राप्त गर्नेछ भने उपविजेता रु २१ हजार प्राप्त गर्नुका साथै दुवै टिमलाई मेडल, ट्रफी र सम्मानपत्रले सम्मान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले रु.१हजार साथै प्रतियोगिताभरिकै उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट फरवार्डले नगद रु. २ हजारका दरले प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडी, राईजिङ प्लेयर र उत्कृष्ट टिम कोचले समेत नगद रु. २ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेलको दिन खुल्ला महिला म्याराथन दौड प्रतियोगिता हुनेछ । पाँच किलोमिटर दूरीको उक्त प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः नगद रु. ६ हजार, ४ हजार, २५ सय र १५ सय साथै मेडल र सम्मानपत्र पाउने नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङले बताए ।

झापा जिल्लामै फुटबलको थलोको रुपमा मानिएको बिर्तामोड १० मा रहेका २६ टोलहरुमा केही टोलहरुलाई संयुक्त टीम बनाई जम्मा १० टिमको मात्र सहभागिता रहने उपाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार विभिन्न टोलभित्र रहेका खेलाडीहरुको खेल क्षमताको वृद्धि तथा विकासको लागि यो प्रतियोगिता संचालन गर्न लागिएको हो ।

प्रतियोगिताको सबै खेलमा खेलाडीहरुमा हुन सक्ने सम्भावित जोखिमहरुलाई ध्यानमा राख्दै प्राथमिक उपचारको व्यवस्था गरिएको वडा खेलकुद विकास समितिका उपाध्यक्ष खड्ग गुरुङले बताए । त्यसैगरी प्रतियोगितालाई शान्त एवम् मर्यादित बनाउन सुरक्षाकर्मीहरुको विशेष सहयोग रहने उनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गराउन ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि बिर्तामोड नगरपालिका १० नं वडा कार्यालयले सहयोग गर्ने भएको छ ।

बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य एवं वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु पृथ्वी बस्नेत , दिपिका सिवा , धनकुमारी श्रेष्ठ , पूर्व जनप्रतिनिधि गीताकुमारी घिमिरे पोखरेल , नेकपा एमालेका रिमानध्वज लोक्ताम , कांग्रेसका खुबराज भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन आयोजक समितिका सचिव नरेन लिम्बूले गरेका थिए ।

यसअघि वडा खेलकुद विकास समितिको आयोजनामा २०७७ , २०७८ र २०७९ मा वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको थियो । गत वर्ष भुतेनी टोल विजेता बनेको थियो । बिर्तामोड १० ले रामदर्शन गुरुङ, किरण राई , प्रवेश कटुवाल , दिलेन लोक्ताम , उत्सव राई ,कविता गुरुङजस्ता राष्ट्रियस्तरका खेलाडी जन्माएको छ । त्यस्तै संजय राई , रुपक गुरुङलगायतका खेलाडीले पनि बिर्तामोड १० लाई चिनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्