झापा, फागुन ९ । पाँच वर्षकी छोरी वर्षा विकलाई साथमा लिएर आतमदाह प्रयास गर्ने बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडा घलेगाउँ बस्ने माया रम्तेलको पनि मृत्यु भएको छ ।

छोरी वर्षाको फागुन ५ गते बिहान मृत्यु भएको थियो भने राजन वि.क.की श्रीमती २८ वर्षीया माया रम्तेलको उपचारका क्रममा आज बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । फागुन ४ गते राति ८.३० बजेको समयमा मायाले घरायसी समस्याको कारण छोरी बर्षालाई आफ्नै शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफैले आफ्नो शरीरमा आगो लगाएको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।त्यसको भोलिपल्ट उपचारका क्रममा बीएण्डसी हस्पिटलमा वर्षाको मृत्यु भएको थियो । मायाको पनि बीएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा त्यहाँबाट फागुन ६ गते उपचारको लागि उनलाई प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको थियो

घटनास्थलनजिकै सुसाईड नोट फेला परेको र त्यस नोटमा श्रीमान राजन अन्य महिलासँग सम्वन्धमा रहेको कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको छ । उनलाई घटना भएकै दिन नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्