झापा, फागुन ९ । चर्चित रियालिटी शो इन्डियन आइडलको टप टेनमा पर्न सफल झापाकी मेनुका पौडेलको गीत सुनेर भावुक नहुने कमै होलान् । उनै मेनुकाले हिजो साँझ बिर्तामोडमा गीत गाएर फेरि रुवाएकी छन् ।

इन्डियन आइडल सिजन–१४ को अडिसनमा नेपाली गायिका मेनुकाले जुन गीत गाएर गोल्डेन माइक जितेकी थिइन्, त्यही ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले हिजो बिर्तामोडमा गाइन् । लायन्स क्लब अफ बिर्तामोड लेडी तथा लायन्स क्लब अफ बिर्तामोड सिटीद्वारा संयुक्त रुपमा आयोजित सम्मान कार्यक्रममा सो गीत गाएर उनले सबैलाई रुवाइन् । इन्डियन आइडलको अडिसनमा मेनुकाले गीत गाउँदै गर्दा निर्णायकहरु श्रेया घोसाल, विशाल ददलानी र कुमार सानु अत्यन्त भावुक बनेका थिए । त्यही गीत हिजो गाउँदा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उप नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौला , लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली, लायन्स क्लब अफ बिर्तामोड सिटीकी अध्यक्ष दुर्गा थपलियालगायतको आँखा रसाएको थियो ।

‘मेनुकाको गीत सुनेर कार्यक्रममा नरुनै कोही भएन’ लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले भनिन् । उनले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “उत्कृष्ट नारी सम्मान”का रुपमा नगद, दोसल्ला र सम्मानपत्रले मेनुकालाई सम्मान गरिएको जानकारी दिइन् ।

कार्यक्रममा लायन्स लिडरहरू, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, लायन्स क्लबका सदस्यहरू ,सरगम संगीतालय परिवारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्