झापा,फागुन ९ । विराटनगरस्थित कोशी अस्पतालको बेथितिविरुद्ध अस्पतालकै कर्मचारीहरु उभिएका छन् । अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेण्डेन्टको मिलेमतोमा गैरकानुनी रुपमा कर्मचारी नियुक्तिको तयारी भएको र अस्पताललाई क्षति पुग्ने काम भएको भन्दै कर्मचारी युनियनले आपत्ती जनाएको हो ।

कोशी अस्पताल कर्मचारी यूनियनका अध्यक्ष डा.रोशन खड्काले १७ बुँदे मागसहितको ज्ञापनपत्र अस्पताल विकास समिति अध्यक्षका डा. फरवर्ड सिलवाल र मेसु डा.चन्द्रभाल झालाई बुझाएको जानकारी दिए । अस्पताल विकास समितिले मनपरी मापदण्ड तयार पारी आफूनिकटका व्यक्तिलाई नियुक्त गर्न लागेको प्रक्रिया तत्काल सच्याउनुपर्ने माग गरेको उनको भनाइ छ ।

अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्डविपरित रहेकोले सच्याउनु पर्ने कर्मचारी युनियनको माग छ । कर्मचारी भर्नाको लागि ४ माघमा जारी गरेको सूचनाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल गिराएको आरोप युनियनले लगाएको छ । यस्तै पछिल्लो पटक थप ३ चिकित्सक नियुक्तिको सूचना आह्वान गर्दा विभागीय प्रमुखसँग सल्लाहसमेत नगरिएको युनियनले जनाएको छ ।

विकास समितिको निर्णयबिना नै अस्पतालले फागुन ४ गतेको मिति राखेर ७ दिने सूचना सार्वजनिक गरेको छ । रिक्त दरबन्दीमा आठौं तहका चिकित्सक नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिएपनि त्यसमा चलखेल रहेको आरोप छ । अन्तरर्वार्ताको भरमा मात्रै चिकित्सक नियुक्तिका लागि सूचना जारी गरेर चलखेल गरिएको हो ।

अस्पतालले फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्ट नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आठौं तहका मेडिकल अधिकृतलाई अन्तरर्वार्ताका भरमा मात्रै नियुक्ति दिन खोजिनुले चलखेल रहेको स्पष्ट हुने कर्मचारीहरु बताउँछन् । तीन चिकित्सक नियुक्तिको तयारीबारे अस्पताल विकास समितिका सदस्य मात्र नभएर अस्पताललको सर्जरी विभागका प्रमुख डा.रवि बस्ताकोटी पनि बेखबर छन् । नयाँ जनरल सर्जन नियुक्तिको विषयमा आफूलाई थाहा नभएको डा.बस्ताकोटीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्