झापा,फागुन ९ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रूपैयाँ बढीको आइरन, स्टिल निर्यात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार सात महिनाको अवधिमा १० अर्ब २० करोड १२ लाख रूपैयाँ बराबरको आइरन र स्टिल निर्यात भएको छ ।

यो सात महिनामा कुल ८६ अर्ब ८३ करोड रूपैयाँ बराबरको सामान निर्यात भएको छ। जम्मा निर्यातमा आइरन र स्टिलको मात्रै हिस्सा ११ प्रतिशत रहेको छ।

सात महिनाको अवधिमा गत वर्षभर भएको निर्यात बराबरको निर्यात भएको छ। गत वर्ष आइरन स्टिलको निर्यात १० अर्ब ८२ करोड रूपैयाँ बराबरको भएको थियो। गत वर्ष सात महिनाको अवधिमा भने जम्मा ५ अर्ब ८५ करोड रूपैयाँको निर्यात भएको थियो।

चालु वर्षको आइरन र स्टिलको निर्यातमा सबैभन्दा बढी जस्तापाताको हिस्सा रहेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा ७ अर्ब रूपैयाँ बराबरको जस्तापाता निर्यात भएको छ।

जस्तापाता, जिआई पाइप, किचन सामग्री लगायतका आइरन र स्टिलमा केन्द्रित सामानहरू नेपालबाट भारत निर्यात हुने गरेका छन्।

आइरन स्टिलको कच्चा पदार्थ नेपालले मुख्यतः भारतबाट नै आयात गर्ने गर्छ। नेपालको सबैभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार हुने वस्तुमध्ये आइरन स्टिल पर्छ।

सात महिनाको अवधिमा ८७ अर्ब बढीको आयात भएको छ। निर्यात गत वर्षको तुलनामा दोब्बरले बढ्दा आयात भने घटेको छ। यसले नेपालमा यस्ता सामग्रीको मागमा कमी आएको तथा नेपाली उद्योगले मूल्य अभिवृद्धि बढाएको संकेत गर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्