झापा,फागुन १० । गत आर्थिक वर्ष अत्यधिक आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले नियन्त्रण गरेको परिणाम अहिले देखिन थालेको छ। अहिले तुलनात्मक रूपमा आयात नियन्त्रण भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-०८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो।

यस अवधिमा नेपालको कुल आयात वार्षिक २.३१ प्रतिशत अर्थात २१ अर्ब २२ करोड १४ लाख रुपैयाँले घटेको विभागको तथ्यांकमा उल्लेख छ। चालु आवको सात महिनाको अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यो गत आवको भन्दा कम हो। गत आव आयात ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँबराबरको भएको थियो। यस पटक आयात घटे पनि यसबाट सरकारले उठाउने राजस्व भने गत वर्षको तुलनामा सुधार भएको छ। तुलनात्मक रूपमा राजस्व गत आवको भन्दा ११.४३ प्रतिशत (२४ अर्ब साढे २५ करोड) बढेर २ खर्ब ३६ अर्ब ३८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। जबकि गत वर्षको आयातमार्फत सरकारले २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ राजस्व उठाएको थियो।

यसै क्रममा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा आयात घट्नुको कारण बजारमा माग न्यून भएको बताउँछन्। तर यसबीच पनि भन्सारमा उल्लेख्य सुधार गर्न सम्भव हुनुको कारण प्रशासनिक सुधार भएको दाबी गर्छन्। ‘विभागले नियमन अनुगमन गतिविधि पनि बढाएकाले र समग्रमा प्रशासनिक सुधार गरेका कारण राजस्वमा सुधार ल्याउन सफल भएको हो,’ महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने। विभागले आन्तरिक नियन्त्रण प्रणालीमा भित्र कडाइ गरेको उनको भनाइ छ।

समग्रमा आयातको सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थ, फलाम र सवारीसाधनमा छ। यस अवधिमा कुल आयातको २०.६० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहेको छ। चालु आवको ७ महिनामा १ खर्ब ८४ अर्ब ९३ करोड ८७ लाख २९ हजार रुपैयाँबराबरको डिजेल, पेट्रोललगायतका पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त रकमबराबरको पेट्रोलियम पदार्थ आयात गर्दा सरकारले ६५ अर्ब ७३ करोड ७९ लाख ९९ हजार रुपैयाँबराबरको भन्सारबापत राजस्व उठाएको छ। यसपछि बढी आयातको दोस्रो स्थानमा फलाम र स्टिल देखिन्छ। यस अवधिमा यसको आयात ७६ अर्ब ५ करोड ५७ लाख ६६ हजार रुपैयाँबराबरको भएको छ। यो कुल आयातको ८.४७ प्रतिशत हिस्सा हो। उक्तबराबरको आयातमा सरकारले १२ अर्ब ९ करोड ३१ लाख ८४ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ। आयातको तेस्रो स्थानमा सवारीसाधन र यातायातका पार्टपुर्जा रहेका छन्।

माघसम्ममा यी वस्तुको आयात ६० अर्ब ८३ करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको आयात भएको छ। यो कुल आयातको ६.७७ प्रतिशत हो। उक्त आकारमा सवारीसाधन आयात हुँदा सरकारले १० अर्ब ६० करोड ४६ लाख ९८ हजार रुपैयाँबराबरको राजस्व उठाएको छ। तर पछिल्लो समय सरकारले विद्युतीय सवारीसाधन (ईभी)मा छुट दिएका कारण समग्रमा यातायातको भन्सार राजस्व घटेको महानिर्देशक पौडेलले जानकारी दिए।
समग्रमा बजारमा उपभोक्ताको क्रयशक्ति घटेकाले मागमा कमी आएकाले व्यवसाय फस्टाउन नसकेको व्यवसायीले गुनासो गर्दै आएका छन्।

गत आर्थिक वर्षको तुलनामा आयात घट्नुको कारण बजारमा माग न्यून भएकाले हुन सक्छ। यद्यपि आयातमा कमी आए पनि भन्सार राजस्वमा सुधार भएको छ। यसको कारण प्रशासनिक सुधार हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्