झापा , फागुन १० । झापाका विभिन्न सहकारी संस्थाहरुमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोड भएको हो । अज्ञात समूह तथा व्यक्तिहरु संस्थाको कार्यालयमा रातको समयमा प्रवेश गरी कार्यालयमा रहेको नगद चोरी गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता श्रृङ्खलाबद्व आपराधिक घटना हुँदै आएको छ ।

साथै विभिन्न अराजक व्यक्ति तथा समूहले सहकारी संस्थाका कर्मचारीलाई कार्यालय परिसरभित्र प्रवेश गरि कुटपिट गर्ने, धाक धम्की दिने, भौतिक आक्रमण गर्ने, हातपात गर्ने गराउनेजस्ता क्रियाकलापहरु निरन्तर बढिरहेकाले सहकारी संस्थाको ऋण असुली प्रणाली नै अवरुद्ध भई नियमित बचत फिर्ता गर्नसमेत ठूलो संकट हुने देखिएको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । उनले त्यस्ता व्यक्ति तथा समूहलाई कानूनको दायरामा ल्याई अविलम्ब कारवाही प्रकृया अगाडी बढाउन र सहकारी संस्थाहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउन अध्यक्ष ढकालको नेतृत्वमा सहकारी संघका पदाधिकारीहरु प्रशासन कार्यालय गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्