शिवसताक्षी, फागुन १० । शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड नगरपालिका र कमल गाउँपालिका भिड्ने भएका छन् ।


बुधबार भएको सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो ।
कमल गाउँपालिकाले गैरकर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकाविरुद्ध प्रोटेस्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरेको खेलाडी कर्मचारीको मापदण्डभित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकालाई आयोजक समितिले विजयी घोषणा गरेको छ ।

कमलले लिखित रुपमै निवेदन दिएपछि आज बसेको आयोजक समितिको बैठकले कमल गाउँपालिकाको प्रोटेस्ट सदर गरेको हो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरिएको खेलाडी नियमसंगत भएको पुष्टि गर्न नसकेपछि कमललाई फाइनलका लागि बोलाइएको खेल आयोजक समितिका संयोजक प्रकाश चौधरीले बताए ।

गौरीगञ्जले खेलमा समावेश गराएका खेलाडीहरु सरोज साउदेन, निरबहादुर प्रधान र विशाल श्रेष्ठ किसान सूचीकरण कार्यक्रमको सहजकर्ता भएको र पुनः उनीहरुलाई रोजगार प्रवर्द्धन केन्द्र (सामी) कार्यक्रमअन्तर्गत गौरीगञ्ज गा.पा.को पाश्र्वचित्र तयारीको लागि बैदेशिक रोजगारीसम्बन्धी तथ्यांक संकलक (गणक) नियुक्ति दिएको देखिएको संयोजक चौधरीले जानकारी दिए ।

बुधबार भएको सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडेनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो ।भोलि हुने फाइनल खेल बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्