लक्ष्मी उप्रेती

मेचीनगर , फागुन १० । नेपाल भित्रिने थुप्रै पर्यटकहरु आकस्मिक र आवश्यक स्वास्थ्य सेवाका लागि आउने गरेका छन् ।नेपालका अस्पतालहरुले यस क्षेत्रको विकास गर्नसके नेपालमा पनि स्वास्थ्य पर्यटनको गतिलो सम्भावना रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

स्वास्थ्य पर्यटन विकासका प्रमुख पूर्वाधारका रुपमा नेपाल भ्रमणमा आउने पर्यटकलाई प्रदान गरिने स्वास्थ्य सेवाको सवलीकरण,अत्याधुनिक चिकित्सा पद्धति र दक्ष तथा विशेषज्ञ चिकित्सक‚ अस्पताल तथा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, छिटो छरितो स्वास्थ्य सेवा, भाषा र व्यवहारमा सेवाभाव, सूचना प्रविधि र स्वास्थ्य बीमा, आवश्यक कानुनमा स्पष्टता, बहुपक्षीय नियामक र प्रवद्र्धन संयन्त्रको विकासलगायतका कुराहरुलाई सम्बोधन गर्नुपर्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । नेपालमा आँखाको उपचार भरपर्दाे तथा विश्वासिलो भएका कारण अत्यधिकरुपमा आँखा उपचारमा स्वास्थ्य पर्यटन अघि बढेको मान्न सकिने उनले बताए ।

खासगरी आँखा उपचार सेवा लिने भारतीयहरूका लागि गन्तव्यस्थल नै बनेको छ, यहाँका आँखा अस्पताल र स्वास्थ्य केन्द्रहरू । नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना निकै देखेर नाट्टाले केही समयअघि स्वास्थ्यलाई कसरी पर्यटनसँग जोड्न सकिन्छ वा स्वास्थ्यलाई पनि कसरी पर्यटन सँगसँगै लैजान सकिन्छ भनेर नेपालको पर्यटन तथा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न विज्ञ तथा स्वास्थ्य संस्थाका सञ्चालकहरूबीच कार्यक्रम नै गरेको नाट्टाका महासचिव नवीनकुमार खरेलले बताए । झापामा दर्जनौ आँखा अस्पताल सञ्चालनमा छन् । त्यहाँ उपचारका लागि आउने अधिकाँश विरामी विदेशी छन् ।

‘काँकरभिट्टा आई केयर (आँखा अस्पताल) सेन्टर मेचीनगर—६ मा वार्षिक २५ देखि ३० हजार मानिस आँखाको उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये स्वदेशी मानिसको संख्या ३० प्रतिशतमात्र छ’अस्पतालका प्रशासक योगेन्द्रजीत शाहीले भने, ‘तीमध्ये एकजना विरामीले न्यूनतम एकदिन बास बस्नु पर्छ । दिन बिताउन गाह्रो भएपछि घुम्न जान मन गर्ने र हामीले नजिकैका धार्मिक एवम् पर्यटकीय स्थल पठाउने गरेका छौ । ’ खासगरी मेचीनगरको पाउँ पाथीभरा, कृष्णथुम्की, मिनी माउन्टेन, टोकलालगायतका स्थानमा जाने गरेको प्रशासक शाहीको भनाई छ । नेपालमा स्वास्थ्य पर्यटनको सम्भाव्यता, अवसरसँगै चुनौती पनि रहेको उनको भनाई छ । काँकरभिट्टामा नै मेची नेत्रालय , दिव्यज्योति आँखा अस्पताल पनि रहेका छन् । तीमध्ये मेची नेत्रालयमा विरामीको चाप उल्लेखनीय हुने गरेको छ ।

अहिले पनि आँखा उपचारमा छिमेकी मुलुकबाट अनगिन्ति बिरामीहरू आउने गरेका कारण नेपालका आँखा अस्पतालले फड्को मारेको बताउँछन् मेची आँखा अस्पताल बिर्तामोडका सचिव गणेश पोखरेल । ‘यसबाट विदेशी मुद्रा आर्जन मात्र भएको छैन ’ सचिव पोखरेलले भने,‘सयौंको व्यवसाय चलेको छ, हजारौंले रोजगार पाएका छन् । ’ मेची आँखा अस्पतालमा वार्षिकरुपमा साढे तीनलाखको उपचार हुने गरेको सचिव पोखरेलको भनाई छ । ‘तर, हाम्रा संरचना पर्यटकमैत्री नभएका कारण सबै मानिसहरु पर्यटकीय स्थल पुग्न सक्दैनन् ’उनले थपे । विदेशमा बस्ने नेपालीहरूले आँखा र दाँतको उपचार तथा कस्मेटिक सेवा नेपालमै आएर लिने गरेका पनि छन् । यहाँ आन्तरिक स्वास्थ्य पर्यटन पनि भइरहेको छ । अझ नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रका भारतीयहरूले आफ्नो ठाउँमा भन्दा नेपालतिरको उपचारलाई विश्वासिलो मान्न थालेको सचिव पोखरेलको भनाई छ ।

भारतीयहरूका लागि नेपालका आँखा अस्पतालहरू छनोटमा पर्नुको प्रमुख कारणहरूमा उपचार शुल्क सस्तो र सौहार्दतापूर्ण वातावरणमा उपचार पाउनु नै रहेको काँकरभिट्टा आई केयर (आँखा अस्पताल) सेन्टर मेचीनगर—६ का सञ्चालक एवम् अध्यक्ष मोहन निरौलाको भनाई छ । अस्पतालका कर्मचारीहरूको मैत्रीपूर्ण व्यवहार र आतिथ्यता महत्वपूर्ण हुने र यसले अस्पताल र स्थानीय बासिन्दाका लागि मात्रै नभई सिंगो नेपालकै अर्थतन्त्रलाई बलियो बनाउन योगदान पुर्याउन सक्ने अध्यक्ष निरौलाको भनाई छ । अझ ‘मेडिकल टुरिजम’मा काम गर्ने, अस्पतालको ग्रेड छुट्याउने, अनुमति दिने र अनुगमन तथा नियमन गर्ने निकाय पनि बेग्लै हुनुपर्नेमा चिकित्सकहरुको जोड छ ।

मेडिकल पर्यटनमा आउने मानिसका लागि सरकारले सहज भिसाको व्यवस्था गर्नुपर्ने, मेडिकल पर्यटनको लागि सरकारी अस्पतालहरुको सेवामा आवश्यक सुधारका साथै स्तरोन्नति र निजीलाई प्रोत्साहन गर्नुपर्नेलगायतका काम गर्नुपर्ने स्वास्थ्यकर्मी दिलिप सुवेदीको भनाई छ । पर्यटकीय गन्तव्यमा योग, ध्यानका सेन्टर सञ्चालन गर्न सक्दा , पर्यटकको आगमन बढी हुने स्थानमा त्यस्ता सेन्टर बनाउन सकियो भने पर्यटकहरूलाई प्याकेजसहित ५–७ दिन बढी राख्न सकिने योग प्रशिक्षक उमानाथ भण्डारीको भनाई छ । स्वस्थ पर्यटक नेपाल आउन तयार रहेको र यसमा एक्लै नभई स्वास्थ्य क्षेत्रका सबै मिलेर काम गर्नुपर्ने भन्दै नाट्टाका निवर्तमान अध्यक्ष श्रेष्ठले त्यसका लागि नेपालमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्