नवरङ्ग बचत तथा ऋण सहकारी संस्था दमकका दुईजना सञ्चालक , व्यवस्थापक र कर्जा प्रमुखलाई कैद सजाय

झापा, फागुन ११ । बचतकर्ताको रकम अपचलन गरेको भन्दै झापा दमकको एउटा सहकारीका सञ्चालक , व्यवस्थापक र कर्जा प्रमुखलाई कैद सजाय तोकिएको छ ।

झापा जिल्ला अदालतले बचतकर्ता दिपु चापागाईं र तमोन्ना निरौलासमेतले हालेको मुद्धाको पक्षमा फैसला गर्दैै दमक ६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्थाका दुईजना सञ्चालक , व्यवस्थापक र कर्जा प्रमुखलाई कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी गायत्री बाह्रकोटीले जानकारी दिए ।निरौलालगायतले किर्ते जालसाझ गरेको भन्दै सहकारीविरुद्ध मुद्धा हालेका थिए । सूचना अधिकारी बाह्रकोटीका अनुसार नवरङ्गका अध्यक्ष सुरज लिम्बू र तत्कालीन उपाध्यक्ष आकाश थुलुङलाई जनही एक वर्ष कैद र नगद १० हजार रुपैँया जरिवाना तिराउने फैसला बुधबार भएको हो ।
यसैगरी सहकारीका व्यवस्थापक सहरमान राई र कर्जा विभाग प्रमुख गौरव राजवंशीलाई जनही ३ वर्ष जेल र ३० हजार नगद जरिवाना गराउने फैसलासमेत अदालतले गरेको छ ।

यो सहकारीले निरौलासहित अन्य बिभिन्न बचतकर्ताहरुको लाखौ रकम हिनामिना गरी अपचलन गरेको ठहर जिल्ला अदालतको छ । निरौलाको मात्रै यो सहकारीले ४८ लाख रुपैँया हिनामिना गरेको थियो ।

त्यस्तै सहकारी ठगी प्रकरणमा पोखराका पत्रकार अर्जुन गिरी कारागार चलान भएका छन्। पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको हो।

गिरीलाई जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले थुनामा पठाएको हो। गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमासमेत लगाएको आरोप छ। मित्रमिलन सहकारीको लेखा समितिका पूर्वसदस्य रहेका गिरी ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत हुन।

गिरीविरुद्ध गत मंसिरमै पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार भएका गिरी बुधबार अदालतमा आफैं उपस्थित भएका थिए। बुधबार थुनछेक नसकिएपछि हिरासतमा पठाइएका गिरीलाई बिहीबार पुनः थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा हालसम्म गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्। सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार–शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन्।

धेरै जना भने धरौटीमा छुटिरहेका छन्। पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेका थिए भने फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भई ३ लाख धरौटीमा छुटे। सुवेदीलाई भने सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले लगत्तै पक्राउ गरेको छ।

आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारी, सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र विष्णुप्रसाद भण्डारी जनही ७ लाख धरौटीमा रिहा भएका छन् भने पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा छुटेका छन्।पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ। तीमध्ये २२ जना अझै फरार छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्