बिर्तामोड, फागुन ११ । उद्योग वाणिज्य संघहरु व्यापारीको अभिभावकीय संस्था हुन् । दुख, अप्ठ्यारोमा साथ दिने वाणिज्य संघमा पछिल्लो समय विश्वास घट्दै गइरहेको छ । संस्थामा आफ्नो अनिवार्य उपस्थिति मात्रै हुनुपर्ने तर, व्यवसायीहरुप्रति जिम्मेवार नहुने क्रम बढेपछि नयाँ अनुहारहरु वाणिज्य संघमार्फत योगदान गर्न अग्रसर भएका छन् । त्यसरी नै अग्रसर भएका छन्, बिर्तामोडका युवा व्यवसायी युवराज निरौला । बिर्तामोडका परिचित युवा व्यवसायी निरौला मोवाइल पार्टस् तथा एशोसेरिजको व्यवसायमा आवद्ध छन् ।


१६ वर्षदेखि व्यापारमा जमेका उनी बिर्तामोडका सबैखाले परिस्थितिहरुबारे जानकार छन् । व्यापारीहरुले भोग्दै आएको दुःख, अप्ठ्याराहरु मसिनो गरी बुझेका निरौलासँग वाणिज्य संघको नेतृत्वमा रहेर केही काम गर्ने अठोट छ । निर्वाचनको पूर्वसन्ध्यामा घोषणा गर्नेभन्दा पनि समस्याहरुको पहिचान गर्दै समाधानमा लाग्ने योजना छ । यहाँका सानादेखि ठुला खाले समस्याहरु, संभावनाहरु महसुस गरेका उनले समाधानको लागि बृहत योजना निर्माण गर्ने बताए ।

यहि फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका उनी चर्चाको अग्रस्थानमा छन् । जित्नै पर्ने उम्मेदवारका रुपमा हेरिएका निरौला मोवाइल पार्टस् र एशोसेरिजमा साविक मेचीका सफल व्यवसायी मानिन्छन् । स्वदेशमै बसेर व्यवसाय क्षेत्रबाट सफलता हासिल गर्ने अठोटका साथ लागेका उनले मोवाइल व्यापारको बजारमा पछाडि फर्किनुपर्ने अवस्था छैन । जसरी व्यापार क्षेत्रमा योजनाबद्ध रुपमा लागे, त्यसैगरी व्यवसायीको पक्षमा लाग्ने उनले सुनाए ।

व्यवसायीहरुको समस्या मसिनो ढंगबाट बुझेका कारण काम गर्न सहज हुने उनको बुझाई छ । बिर्तामोडमा व्यापारीहरुलाई सुरक्षा चुनौति छ । शान्तिपूर्ण रुपमा व्यापार गरेर गन्तव्य सम्म पुग्न सक्ने बिर्तामोडको परिकल्पना निरौलाले गरेका छन् । सबैभन्दा ठुलो समस्या भनेको व्यवसायीबीचको द्वन्द्व पनि हो । बिर्तामोडको उन्नयन र विकासका लागि सर्वप्रथम व्यावसायिक एकता मुख्य आधार हो । व्यवसायीहरुबीचको एकता बलियो बनाउने काम मेरो पहिलो प्राथमिकतामा छ । यहाँको व्यवसाय र बजारको विकास तथा प्रवर्द्धनको निमित्त पहिलो आधार भनेकै एकता हो ।

सबै विषयहरु दोस्रो कुरा हो, पहिलो त एकता नै हो । व्यवसायीबीचको एकताले मात्रै प्रगति हासिल गर्न सकिन्छ । बिर्तामोड बनाउनका वा बचाउनका लागि एकता अति आवश्यक छ । कोषाध्यक्ष पदका उम्मेदवार निरौलाका अनुसार बजारमा अहिले उधारो (बाँकी) का कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्था छ । त्यसको सहजीकरण गर्न संघको तर्फबाट सानो संयन्त्र नै बनाउने योजना पनि छ । रातभर होइन, सुरुवाती चरणमा ९ बजेसम्म बजार खुल्ला गरेर व्यापार गर्न सकिन्छ ।
होटल व्यवसायहरुमा शान्ति सुव्यवस्थाको प्रवन्ध मिलाउनका लागि सरोकारवाला, सुरक्षा निकायसँग रचनात्मक योजना निर्माण गर्ने सोच छ । घरधनी र व्यवसायीबीचको सम्बन्ध सुधार गर्दै व्यवसायमैत्री बनाउन समन्वयकारी भूमिका निभाउने, बजारलाई सातै दिन खुल्ला गर्न व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने योजना रहेको उनको भनाई छ । देशबाट ठुलो संख्यामा युवाहरुको पलायन भइरहेको छ । त्यसको दोष वाणिज्य संघलाई पनि जान्छ ।

युवा तथा व्यवसायीहरुलाई स्वदेशमै व्यापार व्यवसाय गर्ने वातावरण बनाउन वाणिज्य संघको भूमिका उत्तिकै प्रभावकारी हुनुपर्छ । मेरो उम्मेदवारी युवालाई स्वदेशम संभावना देखाउनलाई पनि हो । युवा जति विदेश लागेपछि यहाँ सबै क्षेत्रमा त्यसको असर पर्छ । त्यसैले युवालाई व्यवसायमा संभावना देखाउने अर्को योजना छ । सरकारी निकायबाट व्यवसायीमाथि ज्यादती छ । कतिपय बुझाई नभएको अवस्थामा त, कतिपय समन्वयको अभावले समस्याहरु आइरहेका हुन्छन् ।
त्यसको निराकरण गर्न प्रभावकारी समन्वय गर्न आफू सक्षम रहेको उनी बताउँछन् । निरौला भन्छन्, ‘सबै समस्याहरुको समाधान समन्वयबाट संभव छ । अझ, कोषाध्यक्षको लागि उम्मेदवारी दिनु भनेको पारदर्शी र जवाफदेहिताका लागि हो । कुनै पनि संस्था पारदर्शी हुँदैन भने त्यो सफल हुन पनि सक्दैन ।’ ‘मैले नेतृत्व गरेका सबै क्षेत्र पारदर्शी बनाएको छु,’ उनले थपे । वाणिज्य संघलाई विशुद्ध व्यवसायीहरुको संस्था बनाएर जाने योजना बनाएका निरौलाले अतिथि सदनलाई थप सुविधासम्पन्न बनाउने बताएका छन् । उनले वाणिज्य संघमा गैरव्यवसायीको प्रवेश भए त्यसले व्यवसायीको समस्या पहिचान गर्न नसक्ने दावी समेत गरे ।
०४६ साल जेठ २० गते बिर्तामोडमा जन्मिएका निरौलासँग मोवाइल एशोसिएसको अध्यक्ष, नेपाल राष्ट्रिय वाणिज्य संघको सहसचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको नगर अध्यक्ष र शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको लेखा समिति संयोजकको रुपमा काम गरेको लामो अनुभव छ । व्यापार क्षेत्रको समस्या सम्बन्धित ठाउँमा राख्न, समस्याको पहिचान र समाधानका लागि नेतृत्व गर्न बिर्तामोड वाणिज्य संघमा आफ्नो उपस्थिति अनिवार्य रहेको उनको धारणा छ । अहिलेको सबैभन्दा बलियो सरकार भनेको स्थानीय सरकार हो ।

स्थानीय सरकारसँग झगडा गरेर होइन, समन्वय र सहकार्य गरेर धेरै काम गर्न सकिने बुझाई छ । ‘व्यवसायीको परिमर्कालाई नजिकबाट नियालेका व्यवसायीहरुको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानल बनेको छ’ उनले भने ,‘ विशुद्ध व्यवसायीहरुको प्यानललाई आम व्यवसायीहरुले काम गर्ने अवसर प्रदान गर्नुहुने छ भन्ने पूर्ण विश्वास छ । फेरि पनि विगतको जस्तै भूल भयो भने आगामी तीन वर्ष व्यापारीले पुर्पुरोमा हात राखेर गुनासै गुनासो गरेर बिताउनु पर्ने निश्चित छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्