झापा फागुन ११ । झापा गाउँपालिका वडा नं ४ को भामटोलीमा आज दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ ।


दिउँसो ४ः३० बजेको समयमा झापा गाउँपालिका ४ भामटोली बस्ने ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा शेखका अन्दाजी साढे ४ बर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो । शेखको एकतले टिनको छानो भएको कच्ची घरमा आगो सल्कन गई नजिकै रहेको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका शेखका छोरा अतिप हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी टाघनडुव्बामा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा ५ जना र बीपीओ टाघनडुव्बाबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा १२ जना टोली खटिगई प्रहरी, स्थानीयबासी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । उनले बालकको शव घटनास्थलमै रहेको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्