शिवसताक्षी , फागुन ११ । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।

गौरीगञ्ज गाउँपालिकाले खेलमैदानमा धर्ना दिएपछि फाइनल खेल स्थगित भएको हो । बुधबार भएको सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । गैरकर्मचारीलाई टीममा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकाविरुद्ध कमल गाउँपालिकाले प्रोटेस्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गराएको खेलाडी कर्मचारीको मापदण्डभित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकालाई आयोजक समितिले विजयी घोषणा गरेको हो । आज हुन लागेको फाइनल खेलको समयअगावै गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले कमललाई खेलमा समावेश गराए खेल खल्न नदिने भन्दै स्टेजमा धर्ना दिए । गौरीगञ्जका कर्मचारीहरु आयोजकमाथि जाइलाग्न खोज्दा उनीहरुलाई प्रहरीले स्टेजबाट बाहिर निकालेको थियो ।

गौरीगञ्जले आयोजकको निर्णय नमान्ने भन्दै आयोजकमाथि अभद्र व्यवहार गरेको आयोजक समितिका खेल संयोजक प्रकाश चौधरीले बताए । गौरीगञ्ज गाउँपालिकाले दिएको प्रमाणका आधारमा मासिक तलबी कर्मचारी नभएको पुष्टि भएपछि कमलले लगाएको प्रोटेस्ट सदर गरेको संयोजक चौधरीले बताए । उनले भने,‘प्रतियोगिताको पहिलो दिन गौरीगञ्जले कचनकवल गाउँपालिकामाथि प्रोटेस्ट हालेको थियो । प्रोटेस्ट परेपछि कचनकवल खेल खेल्न नआउँदा गौरीगञ्जले क्वाटरफाइनल खेल्न पाएको थियो ।’
बिहीबार नै कमल गाउँपालिकाले हालेको प्रोटेस्ट सदर भएको गौरीगञ्ज गाउँपालिकालाई जानकारी गराएको आयोजक समितिले जनाएको छ । कमलले लिखित रुपमै निवेदन दिएपछि बिहीवार बसेको आयोजक समितिले कमल गाउँपालिकाको प्रोटेस्ट सदर गरेको हो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गराएको खेलाडी नियमसंगत भएको पुष्टी गर्न नसकेपछि कमललाई फाइनलका लागि बोलाइएको खेल आयोजक समितिका संयोजक चौधरीले बताए ।

खेल सञ्चालन गर्नदिन पटक पटकको आयोजकको अनुरोध गौरीगञ्जले नमानेपछि आजको फाइनल खेल अर्को सूचना नआउन्जेलसम्म स्थगित गरिएको आयोजकले जनाएको छ । गौरीगञ्जका कर्मचारीहरुले कमल गाउँपालिकालाई खेलमा समावेश नगराए मात्रै आफूहरुले खेलमैदान छोड्ने भन्दै आयोजकविरुद्ध नाराबाजी समेत गरे । सेमीफाइनल खेल हुनुअघि कमल र गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले प्रोटेस्ट नहाल्ने भन्दै मौखिक सहमति गरेको र पछि कमलले प्रोटेस्ट हालेको भन्दै गौरीगञ्जले आपत्ति जनाएको छ ।यता कमल गाउँपालिकाले गौरीगञ्जले खेलमा समावेश गराएका खेलाडीहरु सरोज साउदेन, निरबहादुर प्रधान र विशाल श्रेष्ठ पूर्णकालीन कर्मचारी नभएको दावी गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्