भद्रपुर,फागुन ११ । प्रहरी उपरीक्षक मिलन केसीले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकोे चारदिनमा सोचेभन्दा बढी सफलता हात परेको बताएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाको परिसरमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले खासगरी चोरीका मोटरसाइकल फेला पार्ने, लागूऔषधमा संलग्नलाई तथा फरार प्रतिवादी पक्राउ गर्ने काममा झापा प्रहरीले सफलता हात पारेको दावी गरे ।

जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेको चार दिनमध्ये दुई दिनमा मात्र मा १८ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले पत्रकार सम्मेलनमा जानकारी गराए । झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल हराएको भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ताप्लेजुङ जिल्लाको थेगिम्बा, नाल्बु, लिङ्थेप र फुङ्लिङलगायतका क्षेत्रबाट सातवटा मोटरसाईकल र चोरीमा संलग्न एकजनालाई पक्राउ गर्न सफल भई हाल अनुसन्धान भईरहेको बताए ।

पक्राउ परेका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर —६ घर भई हाल बिर्तामोड —६ बुट्टावारी बस्ने योगेश मगर भन्ने बालकुमार मगरसहित फेला परेका सातवटा मोटरसाईकल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । पाँचथरको हिलिहाङ गाउँपालिका —५ बाट मगरलाई ३ फागुनमा प्रहरीले पक्राउ गरेको र उनकै बयानका आधारमा मोटरसाइकल फेला परेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

प्र.१—०३—००५ प ८०४३ नम्बरको २२० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर मोटरसाइकल, प्र.१—०१—०१६ प १२६ नम्बरको २२० सीसीको बजाज कम्पनिको कालो निलो पल्सर मोटरसाइकल, प्र.१—०२—०४८ प ३२३७ नम्बरको २२० सीसीको बजाज कम्पनिको रातो सेतो पल्सर मोटरसाइकल, नम्बर प्लेट उल्लेख नभएको २२० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर मोटरसाइकल, को ३९ प १८४४ नम्बर प्लेट भएको १५० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर, ०१४ प ३१ नम्बर उल्लेख भएको एनएस मोटरसाइकल, प्र.१—०१—०१२ प ३५४७ नम्बरको २२० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर मोटरसाइकल र बा ७२ प १९९१ नम्बर प्लेट भएको १५० सीसीको मोटरसाइकल बरामद भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । यी मोटरसाइकल प्रक्रिया पुरा गरी धनीलाई जिम्मा लगाउने बताइएको छ ।

यसैगरी, झापा जिल्ला दमक ६ बाट झापा गौरीगञ्ज ३ का १९ वर्षका गगन ऋषिदेवलाई १०२ ग्राम ब्राउनसुगरसहित दमक प्रहरीले पक्राउ गरेको र उनलाई अनुसन्धान गर्ने क्रममा र उनकै बयानका आधारमा सोहि स्थान बस्ने २७ वर्षका रविन पासवानलाई नियन्त्रणमा लिई दुवैलाई झापा जिल्ला अदालतमा उपस्थित गराई १० दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

लागूऔषध, बहुविवाह, सवारी ज्यान, चेक अनादर, कुटपिट, चोरी, अबैध वन पैदावार, ठगी, अभद्र व्यवहार र गाली बईज्जतीलगायतका मुद्घाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । सबैलाई फागुन १० र ११ गते दुई दिनमा विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्की, जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरी, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक रोहितकुमार शर्मालगायतको सहभागिता थियो । उनीहरुले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्