लक्ष्मी उप्रेती,

मेचीनगर, फागुन १२ । झापा जिल्लामा सात महिनाको अवधिमा १२ जनाको हत्या भएको छ ।

चालु आर्थिक वर्ष २०८०–०८१ को साउनदेखि माघ महिनासम्म ९ पुरुष र ३ महिला गरी कुल १२ जनाको हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अधिकांश घटनामा परिवार , आफन्त, धेरै नजिकका साथीभाइहरु संलग्न रहेको प्रहरीको अभिलेखले देखाएको छ ।

यो अवधिमा जिल्लाका विभिन्न पालिकाहरुमा श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको, साथीले साथीकै, छिमेकीले छिमेकीको, चिनजानकै भरमा निर्मम हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । धेरै घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको र समय समयमा पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने गरेको उनको भनाई छ । कर्तव्य ज्यान कसुरमा यो अवधिमा २४ पुरुष र १ महिलागरी २५ जनालाई पक्राउ गर्न सफल भएको निमित्त सूचना अधिकारी गिरीले जानकारी दिए ।
सबैभन्दा बढी असोज महिनामा ३ पुरुष र १ महिला गरी ४ जनाको हत्या भएको थियो । त्यसमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको अभिलेखमा उल्लेख छ । छुरा प्रहार र कुटपिटबाट आफ्नै साथीभाइ र श्रीमानले श्रीमतीको हत्या गरेको देखिन्छ । यसैगरी माघ महिनामा फलामको हम्मर प्रहार गरेर र कुटपिटबाट तीन जनाको हत्या भएको छ । माघमा दुई महिला र एक पुरुषको हत्या भएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न भएको आरोपमा दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो ।

श्रीमानले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको, अन्य दुईजनालाई नाता सम्बन्ध नभएको मानिसले कुटपिट गरी मारेको प्रहरी निरीक्षक गिरीको भनाई छ । साउनमा दुईजना पुरुषको हत्या भएको थियो । प्रहरीका अनुसार घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । कात्तिक, मंसिर, पुष महिनामा एक–एकजना पुरुषको हत्या भएको छ भने माघ महिनामा एकजना महिलाको हत्या गरिएको अभिलेखमा उल्लेख छ । घटनामा संलग्न रहेको भन्दै साउन,कात्तिक, मंसिर, पुष महिनामा एक–एकजना पुरुषलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

सवै हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका छन् । ढोका लगाउने चुकुल, बास, फलामको बाम्फोक, खुकुरी, फलामको हम्मर प्रयोग भएका छन् । साउनमा भएको घटनाको एउटा मुद्घामा प्रतिवादी नखुलेको प्रहरीको भनाई छ । परिवारभित्रका घटनालाई केलाउँदा अन्य सदस्यको तुलनामा श्रीमान—श्रीमतीले एक अर्काको हत्या गर्ने क्रम बढेको देखिन्छ । दम्पत्तीबीच हुने हत्याका अधिकांश घटनाको भित्री कारण पैसा, अविश्वास, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्ध रहेको देखिएको बताईएको छ । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार सो अवधिमा छिमेकीबाट पनि हत्या भएको छ । कतिको त चिनजानकै भरमा पनि घटना भएको छ ।

श्रीमान–श्रीमती बीचको हत्याका घटना ५० प्रतिशत छन् । अझ यसमा श्रीमानले श्रीमतीको हत्या गरेका घटना ८० प्रतिशतको हाराहारीमा छन् । प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गिरीको बुझाइमा परिवार र आफन्तभित्रै हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिन्छ । उनले घरेलु हिंसा,आर्थिक समस्या,मानसिक समस्या,शंका, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँडरक्सी र लागूऔषधका कारण पनि यस्ता घटना हुने गरेको बताए ।
उनका अनुसार पहिले संगठित हत्या हुने गर्थे भने अहिले परिवार र आफन्तभित्रै हत्या हुने गरेको छ । ‘अहिले परिवार र आफन्तभित्रै हत्या हुन थालेपछि प्रारम्भिक अनुसन्धानको सुई परिवारभित्रै केन्द्रित गर्ने प्रचलनजस्तै भइसक्यो ’उनले भने ।

मदिरा सेवनपछिको विवाद, रिसिईवी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरु भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशिलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् वा घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका श्रृंखला त्यसमा मात्रै सीमित छैन । सामाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि एकले अर्काको हत्या गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।

रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको बुझाई छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्यधिक रहन्छ । त्यसैले स–साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेको थुप्रै उदाहरण रहेको बताइएको छ ।
अहिले परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति देखिएको छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण स–साना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पछिल्ला उदाहरणबाट बुझ्न सकिन्छ ।

आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यो परिस्थितिमा आफ्नैले आफ्नैलाई हत्या, अरूको हत्या गर्ने जस्ता घटनाको क्रम बढ्दै जाने समाजशास्त्री गोविन्दविक्रम चालिसेको भनाई छ । परिवार आफन्तभित्रै हुने हत्याको पछाडिको कारण सामाजिक विचलन भएको बुझाई उनको छ ।

व्यक्तिगत र सामाजिक कारणले हुने अधिकांश हत्या अवसर अभाव र बदलासँग जोडिएका हुन्छन् । जुन परिवारमा विखण्डन छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना धेरै हुने गर्छ । श्रीमान र श्रीमतीबीच उब्जिएको शंका, उपशंका, अविश्वास, धर्म, संस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दबाबले गर्दा पनि एक अर्काको हत्यासम्म गराउने गरेको थुप्रै उदाहरण छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्