झापा फागुन १२ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला भने सिमेन्टको निर्यात भने बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म कुल निर्यात सात प्रतिशतले घटेका बेला सिमेन्टको निर्यात भने हवात्तै बढेको छ ।

विभागका अनुसार सात महिनामा दुई अर्ब ६० करोड ८५ लाख रुपियाँ बराबरको १० लाख ७३ हजार टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । जसमा ९८ करोड ३७ लाख ९३ हजार रुपियाँको क्लिङ्कर एक अर्ब ७७ करोड रुपियाँ सिमेन्ट निर्यात भएको छ । छिमेकी मुलुक भारतमा सिमेन्ट निर्यात हुने गर्छ ।

गत वर्ष सो अवधिमा १६ करोड ७० लाख ३३ हजार रुपियाँ एक लाख ५२ हजार टन सिमेन्ट निर्यात भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट र क्लिङ्कर निर्यात बढ्न थालेको हो । आव २०७९÷८० को बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको थियो ।

देशको समग्र निर्यात निराशाजनक रहेका बेला सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्