लक्ष्मी उप्रेती,

मेचीनगर, फागुन १३ । सन् २०२४ फेब्रुअरी २८ तारीख अर्थात अबको तीन दिन पछिबाट नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति लागू गर्दैछ । भारतले नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरु मारमा पर्ने भन्दैं तीनै तहका सरकार, प्रमुख राजनीतिक दल, तथा नेपालस्थित भारतीय दूतावाससँग हारगुहार गरिरहेका छन् ।

भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आईएसआई) अनिवार्य लागू गर्ने भएपछि नेपाली प्लाइउड निर्यातमा समस्या हुने भन्दैं व्यवसायीहरुले सबैतिर हारगुहार गर्नुपरिरहेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको भनाई छ । भारतले तीन महिनाअघि राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ, जसमा उसले गुणस्तर मापदण्डमा दर्ता हुन नेपाली व्यवसायीलाई समेत आह्वान गरेको नेपाली सरकारी अधिकारीहरु बताउँछन् । अब मार्च १ तारीखबाट भारतले अनिवार्य रूपमा गुणस्तर मापदण्ड लागू गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका एकजना अधिकारीले जानकारी दिए ।

तर, व्यवसायीहरुले भने पछिल्लो समय नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति अघि सारेको दाबी गरेका छन् । संघीय सरकारका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सचिवदेखि नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म र प्रमुख राजनीतिक दलका नेताहरुको ढोकासम्म पुगेर यस विषयमा लिखित तथा मौखिक समस्या व्यवसायीहरुले राखिसकेको अध्यक्ष प्रसाईको भनाई छ ।

नेपालका प्रायः सबैसँग भेटवार्ता गरिसकेको नेपाली प्रतिनिधिमण्डल भारतको दिल्ली पुगेर स्वदेश फर्किएको छ । नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरे, पूर्व अध्यक्ष देवानन्द सरावगी, उपाध्यक्ष मनोज चित्लाङ्गी र मेची उद्योग वाणिज्य संघका अध्यक्ष प्रसाई भारतका लागि नेपालका राजदूत शंकरनाथ शर्मालाई भेट्न दिल्ली गएको अध्यक्ष प्रसाईले जानकारी दिए । नेपालबाटै तारतम्य मिलाएर दिल्ली पुगेको नेपाली उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डलले राजदूत शर्मालाई सहजै भेट्ने वातावरण मिलेको थियो । टोलीले राजदुत शर्मालाई भेटेर यस बिषयमा आफ्ना कुरा राखेको छ । हुन त, दिल्लीबाट फर्केलगत्तै नेपाली प्रतिनिधिमण्डल संघीय सरकारका परराष्ट्र मन्त्री एनपी साउदलाई भेट्न काठमाण्डौ पुग्यो ।

मन्त्री साउदलाई भेटेर थुप्रै समस्या राख्यो । भारतमा बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन नयाँदिल्ली जाने मौका पारेर टोलीले प्लाइउडलगायत अन्य विषयलाई प्राथमिकतामा राखेर भारतसँग छलफल र संवाद गरिदिन टोलीले आग्रह गरेको थियो । यसमा मन्त्री साउद सकारात्मक देखिएको अध्यक्ष प्रसाईको भनाई छ । ‘भारतले नयाँ नीति लागू गरे नेपाली प्लाइउडको भारत निर्यात अवरुद्ध हुनेछ ’ नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले भने,‘यसका लागि हामी सम्बन्धित मन्त्रालयमा पुगेर मन्त्रीदेखि सचिव सम्मलाई, भन्सार विभागका डिजीहरु अनि स्थानीय प्रशासनमा प्रमुख जिल्ला अधिकारी र भन्सार प्रमुखहरुलाई समेत भेटेर समस्या सुनाईरहेका छौ । ’ भारतले गुणस्तरभन्दा पनि नेपाली प्लाइउडको माग भारतका विभिन्न शहरमा अत्यधिक रुपमा बढ्न थालेपछि र उत्साहजनक निर्यात भएपछि रोक्न खोजेको आरोप नेपाली व्यवसायीहरुको छ ।

सरकारी अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०–०८१ को साउनदेखि कात्तिक महिनासम्ममा काँकरभिट्टा नाका भएर ९६ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । गत आर्थिक वर्ष २०७९–०८० को सोहि अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८०–०८१ मा प्लाइउड निर्यात १ सय ४ दशमलव ७८ प्रतिशतले बृद्घि भएको छ ।

भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै कुनै बेला ‘भारतीय बजारमा प्रवेश नदिन आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा त्यसबेला करिब महिनौ दिनसम्म कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न नपाएको व्यवसायीहरुको भोगाई छ ।

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईलगायतलाई टोलीले भेटेर कुरा राखेपछि भारतसँग यस विषयमा कुरा गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर निकास दिने आश्वासन पाएको प्रसाईले बताए । नेपाली अदुवामा हानिकारक विषादीको मात्रा पाइएको भन्दै कहिले नेपाली अदुवाको भारतले आयातमा प्रतिबन्ध लगाएको थियो भने कहिले टमाटर त कहिले इस्कुस । कुनै न कुनै बहानामा नेपाली कृषिजन्य वस्तुको निर्यातमा भारतले बेलाबखत समस्या गर्ने गरेको बुझाई नेपाली उद्योगी व्यवसायीहरुको छ । यसरी विभिन्न बहानामा नेपाली कृषिजन्य वस्तुकोे पैठारी रोक्न भारतले क्रमशः नयाँ नयाँ नीति लागू गर्दै जान थालेपछि आफूहरु मारमा पर्ने गरेको भन्दै नेपाली व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्