बिर्तामोड , फागुन १३ । भोलि हुन लागेको बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले आफू दलीय उम्मेद्वार नभएर व्यवसायीहरुको साझा ब्यक्ति भएकाले सबै दलका व्यवसायीहरुको मनसंगै मत पनि जित्ने दावी गरेका छन् ।

विभिन्न दलहरुको गठबन्धन गरेर उद्योग व्यवसायजस्तो विशुद्ध ब्यापारिक संस्थामा राजनीति घुसाएर स्वतन्त्र समूह भन्दै ब्यवसायीलाई गुमराहमा राख्ने काम बन्द गर्न विपक्षी समूहका नेतृत्वलाई न्यौपानेले आग्रह गरे । उनले सबै ब्यवसायीहरुको साझा उम्मेद्वार आफू भएकाले लोकतान्त्रिक ब्यावसायिक समूहलाई अत्यधिक मत दिएर जिताउनेमा आफू विश्वस्त रहेको ब्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै बताए । उनले भने,’ बिर्तामोड उद्योग बाणिज्य संघको सदस्य पदबाट निर्वाचित हुँदै विभिन्न पदहरुमा रहेर काम गरेको ईतिहास नै मेरो पहिचान भएकोले मलाई सबै ब्यवसायीले मत दिएर बिजय गराउनेमा आफू र पुरै टिम विश्वस्त छौं ।’

एमाले नेतृत्वमा रहेको नगरपालिकाले ब्यवसायीको हितमा कुनै नीति नल्याएको र कर बृद्धि नै नगरको मुख्य काम देखिएकोले यसका विरुद्ध डटेर मुकाबिला गरी ब्यवसायीलाई चर्को करबाट जोगाउनु आफ्नो दायित्व रहेको उनले बताए ।

ब्यवसायीलाई आईपर्ने जस्तोसुकै समस्यामा रात बिरात नभनी आफू उपस्थित भएर साथ दिने हिजोदेखिकै स्वभाव देखेका कारण यो चुनावमा व्यवसायीहरुले आफूलाई जिताउनेमा विश्वस्त रहेको दोहोर्याए । सानादेखि ठुला ब्यवसायीसम्म लोकप्रिय न्यौपाने युवा माझ त्यतिकै प्रिय छन् ।

गएको चुनावमा वरिष्ठ उपाध्यक्षमा ५ सय २४ को मतान्तरले बिजयी बनेका न्यौपानेले अध्यक्षको मत त्यो भन्दा दोब्बर मतान्तरले जित्ने दावी गरेका छन् । २०५१ को स्वतन्त्र विद्यार्थीको चुनावमा कनकाई क्याम्पस बिर्तामोडको सभापतिमा जितेका न्यौपानेले राप्रपाको विद्यार्थीबाट एक मात्र स्ववियु सभापतिको रेकर्ड बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्