झापा, फागुन १३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा १८७ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत गरी १८७ जनाविरुद्ध स्वबासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले उल्लेख गरेका छन् ।

सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय चन्द्रगढीका कर्मचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्वबासी जग्गादर्ता प्रकृयाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५ जना र विगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका ११३ जना गरी जम्मा प्रतिवादीको संख्या १८७ विरुद्ध मुद्दा दायर भएको हो ।

‘जिल्ला झापा, साविक दमक ६ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नं. १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) कित्ताहरु कि.नं.७६०।१,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरु २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएकोमा उक्त कित्ताहरु नापी कार्यालय चन्द्रगढीबाट पुनःनापीका बखत विभिन्न व्यक्तिहरुको नाममा स्वबासी प्रक्रियाबाट जग्गादर्ता भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

‘जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५) बाट समेत साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्ने देखिँदा उक्त ऐन र नियमावली विपरित सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गरेको’ आरोपपत्रमा उल्लेख छ,‘सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट जम्मा क्षेत्रफल १,९५,६१२.१४ व.मी. (१८ विगाहा १७ कठ्ठा १३ धुर) (३८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको र सो जग्गाहरुको न्यूनतम मूल्याङ्कन रु.४१,६२,१९,८०१.७५ (एकचालीस करोड बैसठ्ठी लाख उन्नाईस हजार आठ सय एक रुपैयाँ पचहत्तर पैसा) हुन आउने देखिएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्