फिदिम,फागुन १३ । झापा ११ एफसी फिदिममा जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापा ११ छैटौं झापा गोल्डकपको तयारीमा रहेको घरेलु टोली हो । फिदिम माविको मैदानमा आइतवार भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष एफसीलाई १–० गोलले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापा ११ का लागि निर्णायक गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रदिप बुढाथोकीको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको २४औँ मिनेटमा पाएको फ्रिकिकमा निकेश श्रेष्ठको प्रहारमा प्रदिपले गोल गरेका हुन् ।

आइतवारको खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद ५ हजार पाए । फ्यान अफ दी म्याच झरना खवास भइन् । उनले नगद २ हजार ५ सय पाइन् । शनिवारदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक पाँचथर क्लबले जित दर्ता गरेको थियो । सप्तरीको नमोबुद्ध युथ क्लबलाई ३–० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो । उसका लागि शुकराज लिम्बूले ह्याट्रिक गरेका थिए । ए डिभिजन क्लब त्रिभुवन आर्मीसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ । गोल्डकपको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्