लक्ष्मी उप्रेती,

मेचीनगर , फागुन १४ । पछिल्लो समय लागूपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउनेको संख्या बढ्न थालेपछि गत वर्षको साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच शुरु गर्यो । झापामा पनि लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि जिल्लाभरि ट्राफिक प्रहरी कार्यालय झापाले लापसे जाँच अभियान सुरु गर्यो । तर, झापामा यसले भने नियमितता पाउन सकेको छैन । आर्थिकलगायत थुप्रै कारण भएको प्रहरीको भनाई छ ।

लागूपदार्थ सेवन (लापसे) परीक्षण गर्ने किट महंगो पर्ने र पर्याप्तरुपमा नभएका कारण यसलाई निरन्तरता दिन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार चालु आर्थिक वर्ष २०८०–०८१ को माघ तेस्रो साता ‐आईतबार) सम्म जिल्लामा तीन पटकभन्दा बढी लागूपदार्थ सेवन (लापसे) चेकजाँच भएको छैन । तीनैपटक नेपाल प्रवेशको पहिलोद्वार मेचीनगर —६ काँकरभिट्टा बस टर्मिनलमा लापसे परीक्षण गरिएको थियो । भारतसँग खुला सिमाना भएकै कारण यो क्षेत्र प्रहरीको निगरानी रहेको र पटक पटक यसैक्षेत्रमा परीक्षण गरिएको प्रहरीको भनाई छ ।

परीक्षणका क्रममा अहिलेसम्म २० जना चालकले लागूपदार्थ सेवन (लापसे) गरेको कार्यालयले जनाएको छ । यो अवधिमा कुल ३० जनामा परीक्षण गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरणका लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले यस क्षेत्रमा मात्र तीन पटक लापसे चेकजाँच गरेको थियो । चेकजाँचमा पहिलो र दोस्रो पटक गरी कुल २० जनाको परीक्षण गर्दा ११ जनाको पोजेटिभ देखिएको थियो । त्यसैगरी, माघ ५ गते तेस्रो पटक कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईको उपस्थितिमा मेचीनगर—६ काँकरभिट्टा बस टर्मिनलमा १० वटा सवारीसाधनका चालकको पिसाब परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखिएको कार्यालयको अभिलेखले देखाएको छ । पोजेटिभ देखिएका सवै चालकलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिम्मा लगाईएको थियो । झापामा पहिलो चरणमा ५ वटा किट ल्याएर असार २४ गते मेचीनगर —६ काँकरभिट्टा बस टर्मिनलबाट लापसे परीक्षण गर्न शुरु गरिएको बताईएको छ । तेस्रो पटक कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईको उपस्थितिमा भएको लापसे चेकजाँचमा ५० वटा किट ल्याईएको भएपनि १० जनाको मात्र परीक्षण गरिएको थियो ।

ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा चल्ने वा पार्किङस्थलमै सवारी चालकहरूको मुत्र परीक्षण सडकमा नै गर्न सुरु गरेको थियो । ड्रग यूरिन टेस्ट किट तथा अन्य कम्पनिका किटको प्रयोग गरी लागूऔषध प्रयोग गरे–नगरेकोबारे जाँच गरिन्छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ । ल्याइएको पिसाब किटमा राखेपछि लागूपदार्थ प्रयोग गरे–नगरेको थाहा हुने चेकजाँचमा संलग्न एकजना स्वास्थ्यकर्मीको भनाई छ । ‘यदि कसैले लागूपदार्थ प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ,’ उनले भने । शुरुमा लागूपदार्थ सेवन गरे–नगरेको भनेर तत्काल प्रमाण जुटाउन नसक्दा प्रहरीलाई समस्या भए पनि अहिले शंका लागेको व्यक्तिको किटको सहायताबाट दुई मिटेनमै नतिजा निकाल्न सकिने प्रहरी अधिकारीहरुको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा सवारीसाधनका चालकहरूले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाए–नचलाएकोबारे स्वास्थ्यकर्मी र अन्य प्राविधिक टोलीसहित किटको प्रयोग गरी जिल्लामा लागूपदार्थ सेवन (लापसे) चेकजाँच शुरु भएको थियो । बजेट अभावका कारण पर्याप्त रूपमा किट खरिद गर्न नसकिएकै कारण झापामा चेकजाँच नियमित हुन नसकेको र अब स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने कार्यालयको भनाई छ ।

लागूपदार्थ प्रयोगकर्ताले गाँजा, हिरोइन, इन्जेक्सन, ट्याब्लेट जे प्रयोग गरेको भए पनि तत्कालै किटको सहायताबाट पत्ता लगाउन सकिने बताउँदैं कार्यालयका एकजना प्रहरी अधिकारीले झापा जिल्लामा लागूपदार्थ नियन्त्रणको लागि प्रहरीले विभिन्न उपाय अपनाएको भए पनि लापसे किटबाट जाँच गरेर प्रयोगकर्ता छुट्याउने प्रविधिको भने पहिलो पटक प्रयोग गर्न थालिएको जानकारी दिए । अहिलेसम्म परीक्षणपश्चातको रिपोर्टको आधारमा सार्वजनिक यातायातका साधन चलाउने धेरै चालकहरूले लागूपदार्थ सेवन गर्ने गरेका छन् ।

‘लागूपदार्थ सेवनको परीक्षण निकै महँगो पर्ने भएकै कारण यसको निरन्तरता नभएको हो ’ प्रहरी अधिकारी भन्छन्—‘लापसे जाँच गर्ने किट उपलब्ध गराउन माथिल्लो निकाय र स्थानीय सरकारसँग आग्रह गर्दछौ । लागूपदार्थ सामाजिक कुरीतिका रुपमा रहेको हुँदा यसलाई निर्मूल पार्नका लागि लापसे परीक्षण गर्ने किट स्थानीय सरकारलगायत विभिन्न सामाजिक संघ संस्थाले समेत उपलब्ध गराउनुपर्ने तर्क प्रहरीको छ ।

सार्वजनिक, निजी तथा यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधनका चालकले लागूपदार्थ सेवन गरी सवारी चलाउन नहुने प्रहरीको भनाई छ । यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरू र पैदलयात्रीसहित सर्वसाधारणको जीवनसमेत जोखिममा पर्ने प्रहरीको भनाई छ । आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रु र हरेक नागरिकले तत्कालै नजिकैको प्रहरी कार्यालयमा खवर गर्न झापा प्रहरीले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्