झापा,फागुन १५ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिका कोषाध्यक्ष रेवतराज पुरी(गगन)ले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

झापाको जिल्ला दमक ८ मा रहेको सरकारी जग्गा आफ्नो नाममा ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरी र उनको परिवारसहित १७२ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै सोही प्रकरणमा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा पनि पुरीको चार करोडभन्दा बढि सम्पत्तीको स्रोत नखुलेको भन्दै जरिवानासहित सजायको फैसला गरिसकेको छ । पुरीले आफ्नो पैत्रिक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको कारण कोषाध्यक्ष पदबाट राजिनामा दिएको बताएका छन् ।

पार्टीका प्रदेश अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजिनामा पत्रमा पुरीले सो प्रकरणमा आफू निर्दोश भएको पनि जिकिर गरेका छन् । बुबा भगवान पुरीले २००२ सालदेखि जंगल फडानी गरि करिव ६० विगाहा जमिन जोतभोग गरेको दावी गर्दै उनले २०२१ सालमा बुवाको नाममा २४ विगाहा र आमा रुपादेवी पुरीको नाममा ४ विगाहा १४ कठ्ठा १० धुर गरि जम्मा २९ विगाहा १४ कट्ठा १० धुर जग्गाको धनिपुर्जा आफ्नो परिवारसँग रहेको जिकिर गरेका छन् ।

जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ बमोजिम २०६३–६४ तिर थप हाम्रो परिवार लगायतले दमक नगरभित्रको हाल वडा दमक ५, ६, ८, ९ र १० मा गरि करिव २५ सय घरपरिवारले पुनः नापी टोलीबाट धनिपुर्जा प्राप्त गरेको पुरीको भनाइ छ । यो समस्यालाई पार्टी र सरकारले निश्पक्ष अनुसन्धान गरि समाधान गर्नुपर्ने उनले माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्