भद्रपुर,फागुन १५ ।झापाको चन्द्रगढीमा आयोजित कार्यक्रममा कर्मचारीहरुले सरकारले स्थानीय तह तथा करारका कर्मचारीलाई सुविधाबाट बन्चित गरेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन झापाद्वारा मंगलवार चन्द्रगढीमा आयोजित संगठन विस्तार तथा सुदृढीकरण अभियान कार्यक्रममा सहभागी कर्मचारीहरुले यस्तो गुनासो गरेका हुन् ।
स्वास्थ्यकर्मीको बढुवाका विषयमा विभेद गरिएको ,करार कर्मचारीको समस्या सुनुवाई नभएकोलगायतका समस्याहरु रहेकाले सबै समस्याको समाधान गर्न निजामती ऐन जारी गर्नुपर्ने तथा समस्याको समाधानको पहल गर्न युनियन सक्रिय भएर लाग्नु पर्ने उनीहरुको भनाई छ ।

प्रकाशचन्द्र चौधरी,रमला बराल,केशव दाहाललगायतका निजामती कर्मचारीहरुले आफ्ना समस्याका बारेमा अवगत गराएका थिए । जिज्ञासाको जवाफ दिँदै युनियनका केन्द्रीय सचिव झपेन्द्र पोखरेलले युनियनले निजामती ऐनमा कर्मचारीका हक अधिकार समेट्नेलगायतका विषयमा काम गरिरहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद भूमि राजवंशीले देशको सुदृढीकरणका लागि निजामती कर्मचारीको भूमिका अपरिहार्य रहेको बताउँदै निजामती कर्मचारीका समस्याको समाधान गर्न आफू प्रतिबद्ध भएर लाग्ने आश्वासन दिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै युनियन झापा अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङले युनियनले स्थानीय तहदेखि केन्द्रीय तहसम्म समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा युनियन प्रदेश संयोजक मानबहादुर वन,केन्द्रीय सदस्य दिनेश पोखरेल, ट्रेड युनियन कांग्रेस सभापति यज्ञप्रताप अधिकारीलगायतले बोल्दै युनियनले अन्याय र समस्यामा परेका कर्मचारीलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए । नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्