झापा,फागुन १६ । मोरङको लेटाङ –२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट गए राति १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको छ।

सहकारी संस्थाको मुख्य कार्यालयसँगै रहेको गोदावरी सेवा केन्द्र र खैरेनी सेवा केन्द्रबाट एउटै समयमा चोरी भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भीमलाल ओलीले बताए । उनका अनुसार मदन भण्डारी राजमार्गमा जोडिएको खैरेनी सेवा केन्द्रबाट तीन लाख ९० हजार ५८५ रुपियाँ र मुख्य कार्यालयसँगै रहेको गोदावरी सेवा केन्द्रबाट ८ लाख ९० हजार ४४५ रुपियाँ चोरी भएको हो ।

दुवै सेवा केन्द्रको मुख्य ढोका सहितका ताला फोडेर चोरी भएको छ । प्रहरी निरीक्षक ओलीले सिसिटिभीको डिभाइस सहित चोरी भएको बताए । चोरी गर्नेको खोजिकार्य भइरहेको उनले जानकारी दिए ।

समुदायमा आधारित जिल्ला कै ठुलो सहकारी भित्र पर्ने एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि.मा ६ हजार ८०८ शेयर सदस्य छन् । गत पुस १२ गते यता मोरङमा बचत ऋण सहकारी संस्थामा भएको चोरीको घटना चौथो हो ।

यसअघि कानेपोखरी ७ को जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.बाट पुस १२ गते राति ४ लाख १४ हजार ८०१ रुपियाँ, माघ २९ गते राति कानेपोखरी–६ को आदर्श बचत तथा ऋण सहकारी संस्था लि.बाट ९३ हजार ९६० रुपियाँ, पथरीशनिश्चरे ८ को सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट फागुन २ गते ४ लाख ७६ हजार १६६ रुपियाँ चोरी भएको थियो । सबै घटनाको प्रकृति एउटै रहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्