झापा, फागुन १६ । झापाको झापा गाउँपालिका–४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई विद्यालय प्रवेशमा रोक लगाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रअ गुप्ताले गरेको अनियमितता छानबिन नगरेसम्म उनलाई विद्यालय प्रवेशमा रोक लगाइएको जनाएको छ ।

विप्लव समूहको झापा गाउँपालिका कमिटीले विद्यायलभित्र प्रअ गुप्ताले गरेका अनियमितताको छानबिन नगरेसम्म रोक लगाइएको इञ्चार्ज कुमार सीले जनाएका छन् । बुधबारै विप्लवका कार्यकर्ताहरूले प्रअ गुप्ताको कोठामा तालाबन्दीसमेत गरेका छन् ।

गुप्ताले विद्यालयमा अपारदर्शी ढंगले काम गरेपछि यतिवेला त्यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, स्थानीयवासी सबै रुष्ट भएका छन् । पटक–पटक प्रअ गुप्तामाथि भ्रष्टाचार आरोप लाग्दा पनि गाउँपालिकाले छानबिन नगरेपछि विप्लव समूहले एक्सन लिएको जनाएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरीसमेत परेको छ । स्थानीय राजनीतिक दल, बुद्धिजीवी, जग्गादाताहरूले विद्यालयको पारदर्शिता खोजेका छन् । तर,प्रअ गुप्ताले उनीहरुको मागलाई बेवास्ता गर्दै आएका छन् । विद्यालयको भौतिक संरचना, दिवा खाजालगायतमा ठूलो अनियमितता गरेको गुप्तामाथि आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्