झापा,फागुन १६ । मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घर जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् ।

स्थानीय समय अनुसार राति २ बजतिर आगलागी हुँदा उनीहरू गहिरो निद्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताएका छन् ।

आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइको मृत्यु भएको बताइन् ।

उनले भनिन्, “बुबा, आमा र दुई भाइ घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्य तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् ।

आवासीय क्षेत्रमा द्रुत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्