झापा, फागुन १६ । बिर्तामोड उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनमा एमालेसहितको पाँचदलीय गठबन्धनको मिसन थियो– कांग्रेसको विरासत तोड्ने ।

कांग्रेसी विरासतको निरन्तरता कि क्रमभंगता ? भन्दै उनीहरुले व्यवसायीहरुको मत बदल्न खोजेका थिए । पुरानो विरासतको क्रमलाई तोड्ने भरमग्दूर प्रयास गरेका उनीहरु असफल मात्र भएनन्, झनै कमजोर सावित भए । अघिल्लो निर्वाचनभन्दा धेरै फराकिलो अन्तरले कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका राजु न्यौपानेले जित हासिल गरे । गत निर्वाचनमा कांग्रेसका प्रकाश शिवाकोटीले एमालेका सुवास भट्टराईलाई ५२४ मतको अन्तरले हराउँदै गर्दा यसपटक एमालेका सशक्त उम्मेदवार मानिएका अर्जुनकुमार मैनाली ७०५ मतको फराकिलो अन्तरले पराजित भए ।
वाणिज्य संघका निवर्तमान महासचिव मैनालीले नै त्यो विरासत तोड्नसक्ने भरोसासहित पाँच दलले अध्यक्षमा अगाडि सारेका थिए । गत निर्वाचनमा कांग्रेसको प्यानललाई तोडेर महत्वपूर्ण महासचिव पदमा एमालेका मैनाली निर्वाचित भएका थिए । ठूलो जनाधार भएको कांग्रेसकै केही मत तानेर गत निर्वाचनमा उनी निर्वाचित भएकोमा यस पटक क्रसभोटको समस्यालाई धेरै हदसम्म न्यूनीकरण गर्न सफल भएको एक कांग्रेसी कार्यकर्ताले बताए । उनका अनुसार पार्टीले जातिगत रुपमा पनि धेरै मत प्रभावित हुन दिएन ।
कांग्रेसको लोकतान्त्रिक व्यावसायिक प्यानलका न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।
१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष , जनसम्पर्क उपाध्यक्ष , कोषाध्यक्ष , तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो ।
वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका थिए । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल थियो भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको रहेको थियो । बिर्तामोडमा २०३८ सालमा झापा उद्योग वाणिज्य संघको शाखा स्थापना भएको थियो भने २०७३ सालमा बिर्तामोड उद्योग वाणिज्य संघको रुपमा संस्थाले स्वायत्तता पाएको थियो । २०७३ सालयता निर्वाचित अध्यक्ष सबै कांग्रेसबाटै निर्वाचित भएका हुन् । २०७३ सालअघि शाखाका अधिकांश नेतृत्वहरु पनि लोकतान्त्रिक विचारकै रहेका थिए ।