झापा,फागुन १७ । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले बिना तथ्यप्रमाण जथाभावी नबोल्न दुर्गा प्रसाईलाई सचेत गराएका छन् ।

झापा गोल्डकपका उपाध्यक्षसमेत रहेका कार्कीले आज एक प्रेस विज्ञप्ति जारी गरी गैरजिम्मेवार एवम् अराजक अभिव्यक्तिहरु बिना तथ्यप्रमाण नबोल्न प्रसाईलाई सचेत गराउँदै अन्यथा बाध्य भइ यस्ता अराजक गतिबिधिविरुद्ध जस्तोसुकै लडाइँ लड्न तयार रहने चेतावनी दिएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानले मंगलवार बिर्तामोडमा गरेको कार्यक्रममा बोल्दै मेडिकल व्यवसायी प्रसाईले कार्कीको नाम पटकपटक लिँदै एक महिलाको सुन र जग्गा खाइ ब्यबहार बिगारिदिएको आरोप लगाएका थिए ।

प्रसाईले सत्य, तथ्य र यथार्थ केही नबुझी आफ्नो नाम पटकपटक लिएर एक महिलाको सुन र जग्गा खाइ ब्यबहार बिगारिदिएको जस्ता कपोलकल्पित र भ्रामक आरोप लगाएको भन्दै कार्कीले गम्भीर आपत्ति जनाएका छन् । उनले बोलेको कुरा प्रमाणित गर्न प्रसाईलाई खुल्ला रूपमा चुनौति दिएका छन् । यदि सो आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न आफू तयार रहेको कार्कीले उल्लेख गरेका छन् ।

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने मेडिकल व्यवसायी प्रसाईले सोही कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीमाथि पनि आरोप लगाएका थिए । ‘एमालेको डीएसपी, कांग्रेसको सीडीओ चाँहिदैन,’ उनले भनेका थिए ।आफ्नै विवादास्पद अभिव्यक्ति र व्यवहारका कारण प्रसाईलाई साथ र सहयोग गर्नेहरु टाढिदै गएको उनका शुभचिन्तकहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्