झापा, फागुन १७ । बिर्तामोडमा बिहीवारबाट तेस्रो सडक फुड फेस्टिवल शुरु भएको छ । फेस्टिवलको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गरेका छन् ।

बिर्तामोड– ३ स्थित मेची आँखा अस्पतालनजिकै शुरु गरिएको फुड फेस्टिवलको उद्घाटन गर्दै मन्त्री उप्रेतीले सुस्ताएको व्यवसाय चलायमान बनाउन यसखाले गतिविधिले सहज हुने बताए । उनले यस्ता कार्यक्रमले पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने बिश्वास व्यक्त गरे ।

होटल व्यवसायी संघ झापाको आयोजनामा चैत ७ गतेसम्म फेस्टिवल आयोजना गर्न लागिएको हो । झापालाई आन्तरिक तथा बाह्य पर्यटनको गन्तब्य बनाउन प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

फेस्टिवलबाट आर्थिक मन्दीका कारण शिथिल बनेको व्यवसाय थोरै भएपनि चलायमान बनाउन मद्दत पुग्ने उनको अपेक्षा छ । फेस्टिवललाई गोर्खा ब्रुअरी नेपाल प्रालिले मुख्य प्रायोजन गरेको र जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रालिले सहप्रायोजन गरेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा शुरु गरिएको फुड फेस्टिवलको बिर्तामोड नगरपालिका संरक्षकको रुपमा रहेको होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले जानकारी दिए ।


फेस्टिवलमा स्थानीय र अग्र्यानिक खाद्य वस्तुलाई प्राथमिकता दिनुका साथै विभिन्न जातजातिका भेषभुषाहरुको प्रवद्र्धन गरिने महासचिव पौडेलको भनाई छ । फेस्टिवलमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने बताइएको छ ।कार्यक्रममा जिल्लामा रहेका सबै क्षेत्रीय होटल व्यवसायी संघ, होमस्टे, जातीय संघ संस्थाको सहभागिता रहने अध्यक्ष श्रेष्ठको भनाइ छ । सांस्कृतिक कार्यक्रम फागुन २९ गतेसम्म रहने र सो पछाडि चैत ४ गतेसम्म ब्यावसायिक स्टलहरु रहने छन् । फेस्टिवलमा २० वटा व्यावसायिक स्टल र १० वटा विभिन्न जातीय स्टल राखिएका छन् । फेस्टिवलमा सयपत्री इन्टरटेन्मेन्टले प्राविधिक सहयोग गरेको छ ।

उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, होटल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष देवी गौतम ‘रबीन’, कोशी प्रदेश अध्यक्ष राजन दंगाल, मेचीनगर नगरपालिकाका वडा अध्यक्ष अर्जुन कार्की, चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, माओवादी केन्द्रका मोहन सुब्बा,महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।होटल ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष ख्याम ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्