बिर्तामोड, फागुन १८ । गत वर्ष डोमालाल राजवंशी रंगशालामा झापा गोल्डकप नभएर मेची रंगशालामा प्रथम भद्रपुर झापा गोल्डकप हुँदा बिर्तामोडका खेलप्रेमीहरु निराश बनेका थिए ।

प्रत्येक वर्ष डोमालाल राजवंशी रंगशालामा झापा गोल्डकप हुने भनिएकोमा त्यही नामको प्रतियोगिता भद्रपुरमा गराइँदा उनीहरुलाई खल्लो हुनु स्वाभाविक थियो । विभिन्न आशंकाका बीच यस वर्ष भव्य रुपले झापा गोल्डकपको छैटौं संस्करण संचालन हुन लाग्दा यहाँका खेलप्रेमीहरु निकै उत्साहित देखिएका छन् ।

खेलकुद गतिविधि नभएर बेस्याहार बनेको डोमालाल राजवंशी रंगशाला फेरि सुन्दर बनेको छ । झापा गोल्डकपको छैटौ संस्करण भोलि फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुँदैछ । २०७२ सालमा पहिलो झापा गोल्डकप भएको थियो । त्यसपछि २०७३ मा दोस्रो , २०७४ मा तेस्रो ,२०७५ मा चौथो र २०७८ मा पाँचौ संस्करण भएको थियो ।अघिल्ला चार वर्षमा लगातार चारवटा संस्करण भएपनि कोरोना महामारीका कारण तीन वर्षपछि पाँचौ संस्करण भएको थियो । पाँचौ संस्करणको दुई वर्षपछि यस वर्ष छैटौ संस्करण हुन लागेको हो । गोल्डकपलाई निरन्तरता दिनु पर्ने खेलप्रेमीहरुको माग रहेको छ ।

यसैबीच गोल्डकपको सम्पूर्ण तयारी भएको आयोजक झापा गोल्डकपले आज खेलमैदानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पहिलो उद्घाटन खेल संकटा फुटबल क्लब र एपीएफ फुटबल क्लबबीच हुने छ । यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यसैगरी, उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्यूरोड टिम (एनआरटी)सँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ । तेस्रो क्वाटरफाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुई पटक ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, अन्तिम क्वाटरफाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले गोल्डकप झापाको शान तथा गौरव भएकाले साथ र सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।गोल्डकपका बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष सुवास भट्टराई, महासचिव गजेन्द्रबहादुर पौडेल, कोषाध्यक्ष केदार गिरी, झापा जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा), बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबका सहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । डोमालाल राजवंशी रंगशालामा हुने गोल्डकपमा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्