झापा, फागुन १९ । वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउँदमा बालुवाका टापुले भरिभराउ देखिन्छ । वर्षायाममा आउने कोशीको बाढीले त्रसित बनेका कोरिडोर आसपासका बस्तीलाई कोशीको सतह बालुवाले पुरिँदै गएपछि थप भयभीत बनाउँछ ।

वर्षाको बाढीमा धमिलो पानीसँगै बगेर आउने बालुवा, लेदो, माटो र ग्रेगरले प्रत्येक वर्ष कोशीको सतह उच्च हुँदै गइरहेको छ । थुप्रिएको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै गएको हो ।

पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लामटाङ हिमाल (गोसाइँकुण्ड) सम्मको ठुलो भूभागमा फैलिएका साना ठुला नदीलाई समेटेको सप्तकोशी नदी नेपालको सबैभन्दा ठुलो नदी हो । यो भारतको गङ्गा नदीमा गएर मिसिन्छ । सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोशी नदीमा बालुवा थुपिँ्रदै गएपछि नदीकै सतह पुरिँदै आएको छ ।

नदीको सतह उठेपछि नदीको बाढी तटबन्ध छेउसम्म आउँछ जसका कारण केही वर्षदेखि कोशीमा पानीको मात्रा थोरै बढ्दा पनि बाढीले ठुलो रूप लिने गरेको छ । वराहक्षेत्र–९ का स्थानीय भीम कार्की भन्छन्, “पहिले पहाडतिरबाट घर नै बगाएर ल्याउँदा पनि कोशीमा त्यत्रो बाढी आउँदैनथ्यो, अहिले सामान्य बाढी आउँदा पनि तटबन्ध छेउमै पानी आइपुग्छ ।” सप्तकोशी डुबान कटान बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बलेू कोशी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै आएको बताउछन् उनी भन्छन्, “सतह उच्च हुँदै आएपछि प्रत्येक वर्ष नदीले आफ्नो बाटो परिवर्तन गर्दै बग्ने गरेको छ । नदीलाई आफ्नै अवस्थामा फर्काउन नदीको सतहबाट बालुवा व्यवस्थापन गर्न अति आवश्यक भइसकेको छ ।”

करिब नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमताको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानी हुनेबित्तिकै नदी टिलपिल हुन्छ । स्थानीय नेत्र घिमिरेका अनुसार पहिला कोशी गहिरो थियो, अहिले बालुवाले पुरिँदै आएको छ । घिमिरे भन्छन्, “मैले थाहा पाउँदासम्म कोशी पश्चिमतर्फ थियो । कोशी कहिल्यै स्थिर भएर बगेको छैन । कहिले पश्चिम भएर बग्छ कहिले बिचबाटै त कहिले पूर्वी तटबन्धको छेउबाट ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्