झापा,फाल्गुन १९ । लगातार दुई खेल जित्दै नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले शनिबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनल पुग्ने बाटो बलियो बनाएको हो ।
शनिबार टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो । घरेलु टोलीले १५.२ ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पूरा गर्‍यो ।
शनिबार नेपालको तर्फबाट कप्तान पौडेल र गुल्सन झाले ६६ बलमा ८६ रनको साझेदारी गरे । पौडेलले ३४ बलमा ४६ रन बनाए भने झाले ३६ बलमा ३८ रन बनाए । ओपनर कुशल भूर्तेलले १२ र आसिफ शेखले ८ रन बनाए ।
नेदरल्यान्ड्सको विभियन किंग्माले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।
यसअघि नेदरल्यान्ड्सका म्याक्स ओडाउडले २४ बलको सामना गर्दै सर्वाधिक ३१ रन बनाए । यस्तै टिम भान डर गुगटेनले २४, रोयलोफ भान डर मर्वेले २३ र स्कट एडवार्ड्सले १८ रन बनाए । नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन् ।
नेपालको तर्फबाट प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २–२ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
पहिलो ओभरमै करण केसीले नेदरल्यान्ड्सको दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा परेको थियो ।
आइतबार नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदै छ । नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा नेपाल सहजै फाइनलमा पुग्नेछ । तर नामिबिया विजयी भयो भने नेटरनरेटको आधारमा फाइनल पुग्ने टोलीको तय हुने छ । तीनै टोलीको २ जितका साथ ४ अंक हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्