झापा, फागुन २० । धनकुटाको पाख्रिबास नगरपालिका १० चुङमाङमा आइतबार अपराह्न यात्रुवाहक पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

हिले बजारबाट चुङमाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप दिउँसो करिब ३ः३० बजे दुर्घटनामा परेको हो । पिकअप आफै अनियन्त्रित भई सडकभन्दा ५० मिटर तल खसेर दुर्घटना हुँदा पाख्रिवास १० बस्ने ९ वर्षीया संस्कृति राईको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ६ जनालाई घोपा धरान पठाएको र २ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी सुमनकुमार तिम्सिनाले बताए । उनले पिकअप चालक राममणि राईलाई प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको जानकारी दिए ।

अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुनाहरु रहेका छन् । घाइते हुनेमा नेत्र कार्की, ईन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, वेदी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक र विद्यार्थीले घाइतेको उद्धार गरेका थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्